हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ साउन । झन्डै नौ दशकको जीवन । त्यसको अधिकांश समय अरूका खेतबारी र घरमा श्रम बेचेरै बित्यो । आफ्नै नाममा न घर थियो, न भविष्यको कुनै निश्चितता । २०५७ साल साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेपछि स्वतन्त्र जीवनको आशा पलायो । बस्नका लागि थोरै जग्गा पनि पाइयो । तर सुरक्षित घर भने २६ वर्षसम्म सपना नै बनिरह्यो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–५, शोभाताल मुक्तकमैया शिविरकी करिब ९० वर्षीया उदासी चौधरी अहिले नयाँ पक्की घरको आँगनमा बस्दा विगतका सङ्घर्ष सम्झिन्छिन् । जीवनभर साहु महाजनको घरमा श्रीमान्सँगै कमैया बनेर बिताएकी उनलाई मुक्तिको घोषणा भएको अढाई दशकभन्दा बढी समयसम्म पनि कच्ची टहरामै जीवन गुजार्नुप¥यो ।
-1784396191.jpg)
वर्षायाम लागेपछि बाढी र डुबानले घर भत्किने चिन्ता, राति जङ्गली जनावर बस्ती पस्लान् भन्ने त्रास र हावाहुरी चल्दा छानो उड्ने डर उनका लागि सामान्य कुरा थिए । उमेर ढल्कँदै गए पनि सुरक्षित घरमा बस्ने चाहना पूरा हुन सकेको थिएन ।
-1784396192.jpg)
यस वर्ष भने उनको जीवनमा नयाँ अध्याय सुरु भएको छ । सरकारी तथा गैरसरकारी साझेदारीमा निर्माण भएको पक्की घर हस्तान्तरण भएपछि उनले पहिलो पटक सुरक्षित आवासको अनुभूति गरेकी छन् । उनका अनुसार घरले वर्षौँदेखिको असुरक्षा मात्रै हटाएको छैन, बुढ्यौलीमा सम्मानका साथ बाँच्ने आधार पनि दिएको छ ।
उदासीको कथा एक्लो होइन । बेलौरी नगरपालिका–९, रामघाट मुक्तकमैया शिविरकी ऋता चौधरीको परिवारले पनि पुस्तौँदेखि त्यही पीडा भोग्यो । उनका सासू–ससुराले जीवनभर साहु महाजनकै घरमा काम गरेर परिवार चलाए । कमैया मुक्तिको घोषणापछि बन्धन त तोडियो, तर गरिबीको चक्र भने टुटेन ।
छोराछोरी कच्ची घरमै हुर्किए । जङ्गलछेउको झुपडी सधैँ जङ्गली जनावरको त्रास, वर्षायाममा चुहिने छानो, बाढीको जोखिम र असुरक्षित बसोबास उनीहरूको दैनिक यथार्थ बन्यो । अहिले भने नयाँ पक्की घर बनेपछि परिवारले भविष्यप्रति नयाँ आशा देख्न थालेको छ । ऋता भन्छिन्, अब आफ्ना सन्तानलाई डर होइन, सुरक्षित घरमा हुर्काउन पाउने विश्वास जागेको छ ।
-1784396188.jpg)
कमैया मुक्तिको घोषणा भएको २६ वर्ष पूरा हुँदा पनि कञ्चनपुरका धेरै मुक्तकमैया परिवार अझै कच्ची टहरामै बस्न बाध्य छन् । कतिपयले न्यूनतम आवास सुविधा समेत पाउन सकेका छैनन् । यद्यपि केही वर्षयता स्थानीय तह, प्रदेश सरकार र विकास साझेदार संस्थाहरूको सहकार्यमा सुरक्षित आवास निर्माण अभियान अघि बढ्न थालेपछि केही परिवारको जीवनमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।
आर्थिक वर्ष २०८२÷८३ मा बेलौरी नगरपालिका–५ मा १८ र वडा नम्बर ९ मा १७ गरी ३५ वटा सुरक्षित आवास निर्माण गरेर मुक्तकमैया परिवारलाई हस्तान्तरण गरिएको छ । ती घर निर्माणका लागि कुल ७१ लाख ७१ हजार ३ सय ९५ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३१ लाख ५० हजार रुपैयाँ, बेलौरी नगरपालिकाले १३ लाख ५० हजार रुपैयाँ र हेविट्याट फर ह्युमिनिटी नेपालले १० लाख ८० हजार रुपैयाँ सहयोग गरेका छन् । लाभग्राही परिवारको श्रमदानको मूल्य १५ लाख ९१ हजार ३ सय ९५ रुपैयाँ बराबर रहेको छ ।
-1784396188.jpg)
बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीका अनुसार मुक्तकमैया परिवारमध्ये सबैभन्दा विपन्न र असुरक्षित अवस्थामा रहेका परिवार छनोट गरेर घर निर्माण गरिएको हो । सुरक्षित आवाससँगै उनीहरूको जीवनस्तर सुधार गर्ने लक्ष्य राखिएको उनले बताए ।
यो अभियान यस वर्षबाट मात्र सुरु भएको होइन । आर्थिक वर्ष २०८०÷८१ मा बेलौरी नगरपालिका–९ मा १० घर र बेलौरी नगरपालिका–१० मा ५ घर निर्माण गरिएका थिए । आर्थिक वर्ष २०८१÷८२ मा बेलौरी नगरपालिका–५ मा १४ घर, बेलौरी नगरपालिका–६ मा ५ घर, बेलौरी नगरपालिका–७ मा ५ घर, बेलौरी नगरपालिका–८ मा ५ घर निर्माण गरिएको हेविट्याट फर ह्युमिनिटी नेपालकी कार्यक्रम संयोजक सरस्वती पुरी बमले जानकारी दिएकी छन् । उनका अनुसार, मुक्तकमैया तथा अतिविपन्न परिवारका लागि यस्ता घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । अब चालु आर्थिक वर्ष २०८३÷८४ मा वडा नम्बर १ देखि ४ सम्मका विपन्न परिवार पहिचान गरेर सुरक्षित आवास निर्माण गर्ने योजना रहेको जनाइको छ ।
-1784396189.jpg)
नेपालमा २०५७ साल साउन २ गते तत्कालीन सरकारले कमैया प्रथा अन्त्य गरी हजारौँ कमैयालाई मुक्त घोषणा गरेको थियो । त्यसयता उनीहरूलाई जग्गा वितरण, पुनः स्थापना र जीविकोपार्जनका विभिन्न कार्यक्रम सञ्चालन भए पनि धेरै मुक्तकमैया परिवार अझै गरिबी, बेरोजगारी र असुरक्षित आवासको समस्याबाट पूर्ण रूपमा मुक्त हुन सकेका छैनन् ।
मुक्तकमैया अधिकारकर्मीहरूको भनाइ छ, “कमैया मुक्तिको घोषणा भएको २६ वर्षपछि पनि धेरै मुक्तकमैयाको स्वतन्त्रता अझै सम्मानपूर्ण जीवनमा रूपान्तरण हुन बाँकी छ । तर पछिल्ला तीन वर्षमा बेलौरीका विभिन्न बस्तीमा बनाइएका यी ७९ सुरक्षित घरले एउटा सन्देश दिएका छन्, मुक्ति घोषणा गरेर मात्र पूर्ण हुँदैन, सुरक्षित आवास, सम्मानजनक जीवन र अवसरको सुनिश्चिततासँगै त्यसले वास्तविक अर्थ पाउँछ ।”