कञ्चनपुर । कञ्चनपुरमा शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ । अझै वर्षा हुन सक्ने सम्भावनासँगै सम्भावित बाढी, डुबान तथा अन्य जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र पारिएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा सम्बन्धित सरकारी कार्यालयसँग समन्वय बढाएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लामा वर्षाको अवस्थालाई निरन्तर निगरानीमा राखिएको बताउनुभयो । उहाँका अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रको अवस्था बुझ्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र आवश्यक परे तत्काल उद्धार तथा राहतका लागि जनशक्ति परिचालन गर्ने गरी तयारी गरिएको छ । जोखिमसम्बन्धी सूचना सर्वसाधारणसम्म समयमै पुर्याउन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा माइकिङमार्फत जानकारी गराउने काम भइरहेको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो।
सम्भावित विपद्का बेला उद्धार तथा सुरक्षाका लागि सुरक्षा निकायले पनि जनशक्ति र उपकरण तयारी अवस्थामा राखेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गण हेडक्वार्टर कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार जिल्लाभरि विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । पुनर्वास, बेलौरी, दोधरा चाँदनी, भीमदत्त र शुक्लाफाँटामा रबर बोटसहितको उद्धार टोली तैनाथ गरिएको उहाँले बताउनुभयो ।
जिल्लास्तरीय तयारीसँगै स्थानीय तहहरूले पनि सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै जनशक्ति, उपकरण र सुरक्षित स्थानको व्यवस्थापनमा जोड दिएका छन् ।
भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोजप्रसाद भट्टका अनुसार जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचनाका आधारमा नगरपालिकाले पूर्वतयारी तीव्र पारेको छ । सामुदायिक विपद् व्यवस्थापन समिति, उत्थानशील युवा सञ्जाल तथा नागरिक वैज्ञानिकलाई तयारी अवस्थामा राखिएको र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।
वेदकोट नगरपालिकाले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगर प्रहरी, जेसीबी चालक, एम्बुलेन्स चालक तथा सुरक्षा निकायसँग समन्वय बढाएको छ । नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दका अनुसार नगर क्षेत्रका सबै सामुदायिक विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा राखिएको छ । पहाडी जिल्लाबाट आउने नदी तथा खोलाको बहावलाई समेत ध्यानमा राखेर सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।
पुनर्वास नगरपालिकाले पनि आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखेको छ । नगरपालिकाका विपद् सम्पर्क व्यक्ति ओमनाथ ढकालका अनुसार सामुदायिक विपद् व्यवस्थापन समिति र युवा सञ्जाललाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ । जोखिमको सूचना समुदायसम्म पुर्याउन आइभीआर तथा एसएमएसमार्फत जानकारी प्रवाह गर्ने र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।
पालिकाको तयारीसँगै महाकाली तटीय क्षेत्रका सामुदायिक विपद् व्यवस्थापन समितिहरू पनि सम्भावित जोखिमबाट जोगिन सक्रिय भएका छन् । भीमदत्त र दोधरा चाँदनीका तटीय क्षेत्रका समितिहरूले आकस्मिक बैठक बसेर जोखिमको अवस्था र पूर्वतयारीबारे छलफल गरेका छन् ।
समितिहरूले जोखिमयुक्त बस्तीमा माइकिङ गर्नुका साथै सुरक्षित आश्रयस्थल पहिचान गरेका छन् । सम्भावित जोखिम बढेमा स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको छ । आश्रयस्थलका लागि खाद्यान्न, तत्काल खान सकिने खानेकुरा, म्याट तथा ग्यास चुलोलगायतका सामग्री खरिद गरी तयारी अवस्थामा राखिएको छ ।
स्थानीयलाई अन्न, नागरिकता तथा अन्य महत्वपूर्ण कागजात पानीबाट जोगिने गरी सुरक्षित स्थानमा राख्नसमेत सचेत गराइएको छ । जोखिम बढेमा आवश्यक सामग्रीसहित सुरक्षित आश्रयस्थलमा जान सक्ने गरी समुदायस्तरमा तयारी गरिएको समितिहरूले जनाएका छन् ।
दोधरा चाँदनी नगरपालिका -३ पटराखल्लामा डुबानको जोखिम बढेपछि जोखिममा रहेका घरधुरीको खाद्यान्न तथा आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको छ । नगर प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घरधुरीबाट सारिएका सामग्री जमुना आधारभूत विद्यालयमा राखिएको नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले जानकारी दिनुभयो ।
त्यस्तै, दोधरा चाँदनी -१० कुतियाकबरका स्थानीयले पनि सम्भावित डुबानलाई मध्यनजर गर्दै सेफ हाउसमा खाद्यान्न, प्राथमिक उपचार सामग्री तथा आवश्यक कागजात सुरक्षित राखेका छन् ।
वर्षा निरन्तर भइरहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र तटीय तथा डुबानको जोखिमसमेत बढ्न सक्ने भएकाले प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । नदी तथा खोलाको किनारमा नजान, जोखिमपूर्ण यात्रा नगर्न तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचना पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।
सम्भावित जोखिम आउनुअघि नै सूचना प्रवाह, उद्धार टोलीको परिचालन, सुरक्षित आश्रयस्थलको व्यवस्थापन र समुदायस्तरको तयारीलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा सामुदायिक विपद् व्यवस्थापन समितिहरूबीच समन्वय बढाइएको छ ।