हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ फागुन । कञ्चनपुरमा पनि विविध कार्यक्रम गरी ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा सहित कञ्चनपुरका प्रायः सबै पालिकाहरूमा कार्यक्रम गरिएको जानकारी प्राप्त भएको छ । दिवसकै अवसरमा विभिन्न सरकारी, गैरसरकारी तथा निजी सङ्घसंस्थाहरूले समेत चेतनामूलक कार्यक्रम गरेका छन् ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको सङ्घर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ । जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित ग¥यो । त्यसपछि सन् १९११ देखि महिला दिवस मनाउन थालिएको हो ।