हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ पुस ।
कञ्चनपुरको बेलौरीमा माघी पर्वलाई लक्षित गरी आयोजना गरिएको ‘माघ म्याला २०८२’ भव्य रूपमा सम्पन्न भएको छ । बेलौरी नगर भलमन्सा समितिको आयोजनामा तथा बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा पुस २६ गतेदेखि सुरु भएको म्याला मंगलबार समापन भएको हो । म्यालामा थारु समुदायका मौलिक तथा परम्परागत नाचगानदेखि आधुनिक गीतसंगीतसम्मका विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएका थिए । सखिया, मघौटा, झुम्रा तथा रानाथारु समुदायको होरी नाचले दर्शकलाई विशेष रूपमा आकर्षित गरेको आयोजकले जनाएको छ । यसका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुतिले भरपूर मनोरञ्जन प्रदान गरेको आयोजकको दाबी छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले माघी पर्वको शुभकामना व्यक्त गर्दै नगरभित्र बसोबास गर्ने सबै जातजातिका मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनलाई नगरपालिका सधैँ प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर उपप्रमुख जोगराम चौधरीले माघ म्यालामा विभिन्न जातजातिका मौलिक सांस्कृतिक कार्यक्रम समेटिएकाले सामाजिक सद्भाव र एकता मजबुत हुनुका साथै स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरीले माघी पर्व थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको बताउनुभयो । प्रत्येक वर्ष गाउँटोलमा नयाँ भलमन्सा चयन गर्ने चलन रहेको उल्लेख गर्दै उहाँले माघी पर्वले थारु समुदायको ऐतिहासिक संस्कार, जीवनशैली र सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आयोजकले अतिथिहरूलाई सम्मान स्वरुप मायाको चिनो समेत प्रदान गरेको छ ।

म्यालाको अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो भने थारु समुदायको मौलिक कला, संस्कृति र पहिचान झल्किने परम्परागत खानाका परिकार तथा ऐतिहासिक सामग्रीहरूको प्रदर्शनी गरिएको थियो । माघी नजिकिँदै गर्दा थारु समुदायमा विशेष खानपिनका परिकार बनाउने क्रम पनि तीव्र बनेको छ । घरघरमा माछा, मासु, चामल तथा स्थानीय उत्पादनबाट तयार गरिने परिकारहरू पाकिरहेका छन् । माघीमा विशेषगरी ढिक्री, घोंगी, गंगटा, सुरिक सिकार, मुसक सिकार, मच्छी तथा परम्परागत पेय पदार्थ अनिवार्यजस्तै मानिन्छन् । यी परिकारलाई स्वादसँग मात्र होइन, सामूहिकता र सांस्कृतिक पहिचानका प्रतीकका रूपमा पनि लिइन्छ । माघ म्यालामा पनि त्यस्ता परिकारहरूले राम्रै बजार पाएको बताइएको छ । यसरी बेलौरीमा सम्पन्न माघ म्यालाले थारु समुदायको संस्कृति, परम्परा र सामूहिकताको उत्सवलाई अझै सशक्त बनाउँदै राष्ट्रिय स्तरमै सांस्कृतिक विविधता र एकताको सन्देश प्रवाह गरेको आयोजकको दाबी छ ।