माधब पौडेल / हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ पुस । कञ्चनपुरको बेलौरी नगरपालिकामा विपन्न तथा अति विपन्न घरपरिवारका लागि निर्माण गरिएका २९ वटा सुरक्षित आवास शुक्रबार घरधनीहरूलाई हस्तान्तरण गरिएको छ । बेलौरी नगरपालिका, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नगरपालिकाका विभिन्न वडामा सुरक्षित आवास निर्माण गरिएको हो । जसअनुसार बेलौरी नगरपालिका वडा नम्बर ५ मा शोभाताल नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समितिमार्फत १४ वटा, वडा नम्बर ६ मा पर्साताल नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समितिमार्फत ५ वटा, वडा नम्बर ७ मा सिद्धबाबा नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समितिमार्फत ५ वटा तथा वडा नम्बर ८ मा रामपुर नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समितिमार्फत ५ वटा गरी जम्मा २९ घर निर्माण सम्पन्न भएपछि हस्तान्तरण गरिएको हो ।

कार्यक्रमको सभापतित्व गर्दै वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरीले विपन्न परिवारको जीवनस्तर सुधारका लागि सुरक्षित आवास अत्यन्त आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकार, गैरसरकारी संस्था र समुदायबीचको सहकार्यले मात्र यस्ता कार्यक्रम सफल हुने भन्दै उहाँले आगामी दिनमा पनि यस्ता योजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरीले विपद् जोखिम न्यूनीकरणका दृष्टिले सुरक्षित आवास महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आफ्ना वडामा निर्माण भएका घरहरूले लाभग्राही परिवारलाई सुरक्षित अनुभूति गराएको बताउन भयो ।

कार्यक्रममा बोल्दै निड्स नेपालका सचिव टिका क्षेत्रीले स्थानीय सरकारसँगको सहकार्य प्रभावकारी रहेको उल्लेख गर्दै नगरपालिकाको समन्वय र समुदायको सक्रिय सहभागिताले परियोजना सफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । साझेदार संस्था ह्याबिट्याट फर ह्युम्यानिटी नेपालकी प्रतिनिधि पुनिता चौधरीले सुरक्षित आवास केवल घर मात्र नभई परिवारको सम्मान र सुरक्षित भविष्यसँग जोडिएको विषय पनि भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहसँगको सहकार्यले परियोजना प्रभावकारी बनेको बताउनुभयो ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बेलौरी नगरपालिकाले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै योजनाको सफल कार्यान्वयनका लागि पालिकाबाट प्राप्त निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर उपप्रमुख जोगराम चौधरीले निड्स नेपाल र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको सहकार्य तथा बेलौरी नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको सुरक्षित आवास परियोजनाले विपद्का समयमा नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कमजोर संरचनाका घरहरूले ठूलो क्षति पुर्याउने भएकाले विपद् प्रतिरोधी आवास अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नगरप्रमुख पोतिलाल चौधरीले नगरभित्रका गरीब तथा अति विपन्न परिवारलाई लक्षित गर्दै प्रत्येक वडामा सुरक्षित आवास निर्माण गरिँदै आएको जानकारी दिनुभयो । उहाँले गत वर्ष वडा नम्बर ९ र १० मा १० - १० गरी २० घर निर्माण गरी हस्तान्तरण गरिएको स्मरण गर्दै यस वर्ष वडा नम्बर ५, ६, ७ र ८ मा २९ वटा सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको बताउनुभयो । विकास निर्माणका काम सफल बनाउन सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै उहाँले कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सुधारका लागि सुझाव दिन सबैसँग आग्रह गर्नुभयो ।

सुरक्षित आवास निर्माणका लागि बेलौरी नगरपालिकाको तर्फबाट प्रति घर २ लाख ५० हजार रुपैयाँ तथा साझेदार संस्था ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको तर्फबाट प्रति घर २ लाख ५० हजार रुपैयाँ लगानी गरिएको कार्यक्रम संयोजक सरस्वती पुरीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य कृपाराम चौधरीले गर्नुभएको थियो ।


