काठमाडौँ । साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आज आयोजित कार्यक्रममा आहुति, डा रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठीले संयुक्त रूपमा महाकाव्यको लोकार्पण गर्नुभयो ।
कार्यक्रममा आहुतिले महाकाव्यले नेपाली समाजमा रहेको विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दलित समुदाय नेपाली इतिहासको प्रथम प्राविधिक वा वैज्ञानिक रहे पनि जात व्यवस्थाले त्यसको सही मूल्याङ्कन हुन नसकेको बताउनुभयो ।
यसै गरी डा. रामप्रसाद ज्ञवालीले वि.सं. २०५० को दशकयता नेपाली साहित्यमा लेखिएका तीन सयभन्दा बढी महाकाव्यमध्ये ‘अग्नि’ सबैले पढ्नै पर्ने विषय र पात्रमाथि लेखिएको उल्लेखनीय महाकाव्य भएको धारणा राख्नुभयो । कार्यक्रममा डा. गीता त्रिपाठीले अग्नि महाकाव्यमार्फत नेपाली समाजको चरित्र, उत्पीडन र विभेदको कथा मौलिक ढङ्गले प्रस्तुत गरेकोमा लेखकको प्रशंसा गर्नुभयो ।
रेडियो नेपाल समाचार महाशाखा प्रमुख समेत रहनुभएका साहित्यकार डा. लम्सालले अग्नि यसअघि लेखिएका दुई वटा महाकाव्य कर्ण र धराभन्दा भिन्न विषयवस्तु, विशेष गरी जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्य मार्फत उजागर गरेको बताउनुभयो । यो महाकाव्य बुक हिल प्रकाशनले बजारमा ल्याएको हो ।
यो समाचार रेडियो नेपालबाट साभार गरिएको हो ।