प्रकाश भट्ट, कञ्चनपुर । सार्क एजुकेसन फाउन्डेसनको आयोजनामा ‘सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन २०८३’ (SARC National Researc Conference 2083) असोज ३ र ४ गते आयोजना हुने भएको छ ।
कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको सम्मेलनमा विद्यार्थीले आफ्ना अनुसन्धान, विचार, नवप्रवर्तन, कार्यशील नमुना तथा वास्तविक समस्याका व्यावहारिक समाधान प्रस्तुत गर्नेछन् ।
फाउन्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतका अनुसार सम्मेलनले विद्यार्थीमा अनुसन्धानप्रतिको रुचि, जिज्ञासा र सृजनशीलता बढाउँदै आफ्ना खोज तथा नयाँ विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ । अनुसन्धानलाई केवल शैक्षिक अभ्यासमा सीमित नराखी समुदाय तथा समाजका वास्तविक समस्या पहिचान र समाधान गर्ने माध्यमका रूपमा विकास गर्न सम्मेलनले प्रेरित गर्ने उहाँले बताउनुभयो ।
दुई दिने सम्मेलनको पहिलो दिन सांसद ज्ञानेन्द्र महता प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । यस्तै, दोस्रो दिन सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल प्रमुख अतिथिका रहने आयोजकले जनाएको छ ।
फाउन्डेसनका प्लस टु संयोजक राजेश भण्डारीका अनुसार सम्मेलनमा विद्यार्थीका अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिइनेछ । विद्यार्थीले आफ्नो ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्दै समुदायमा देखिएका समस्याको समाधान खोज्न सम्मेलनले प्रोत्साहन गर्ने उहाँले बताउनुभयो ।

सम्मेलनमा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, विज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ । सम्मेलनमा १६ वटा अनुसन्धान स्टल, दुई वटा प्यानल छलफल तथा १२ जना विद्यार्थी अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुति रहनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत व्यक्तिले युवा अनुसन्धानकर्तासँग आफ्ना व्यावहारिक ज्ञान, अनुभव र अनुसन्धानका विषयमा अन्तरक्रिया गर्नेछन् । उनीहरूको अनुभव र मार्गदर्शनले विद्यार्थीलाई अनुसन्धानका नयाँ सम्भावना पहिचान गर्न तथा अनुसन्धानलाई व्यवहारिक समस्यासँग जोड्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
युवा पुस्ताको जिज्ञासा, सृजनशीलता, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै उनीहरूलाई अनुसन्धानमार्फत समुदाय तथा समाजका चुनौती समाधान गर्न सक्षम बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
सम्मेलनमा विद्यार्थी र शिक्षकसँगै अनुसन्धानकर्ता, शिक्षाविद्, विज्ञ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत व्यक्तिको सहभागिता रहनेछ । स्रोत व्यक्तिले युवा अनुसन्धानकर्तासँग आफ्ना अनुभव तथा अनुसन्धानका व्यावहारिक पक्षबारे अन्तरक्रिया गर्नेछन् ।