हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ माघ । तोरी एक तेलहन बाली हो । नेपालको पहाडी र तराइका समथर भूभागमा यसको प्रशस्त खेती गरिन्छ । यो नेपालको मुख्य तेलहन बाली हो । यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ । तोरीको बिउ दुई दलीय हुन्छ । कञ्चनपुरका किसानले तोरी लगाउन छाडेको वर्षौँ भइसकेको थियो । रोग किराको प्रकोप र माटोमा खाद्य तत्त्वले उत्पादनमा कमी भएकोले यहाँका किसानहरू तोरीको सट्टा उखु, गहुँ तथा तरकारी खेती गर्न बाध्य हुनु परेको अवस्था थियो । कुनै बेला तोरीको माग धान्न सक्ने गरी उत्पादन गर्ने कञ्चनपुरका किसानले तोरी लगाउनै छोडिसकेको अवस्था थियो । तर, पछिल्लो समय भने किसानहरू पुनः पुरानै बालीमा फर्किएको देख्न सकिन्छ । कञ्चनपुरका फाँटहरू अहिले पहेँलपुर भएका छन् । कञ्चनपुरको बेलौरीका किसान प्रताप रानाले केरा खेतीलाई कम गर्दै यस वर्ष तोरी खेतीलाई बढावा दिनु भएको छ । उहाँले अहिले करिब पौने ३ बिघा जति जमिनमा तोरी खेती गरेको सुनाउनु भयो ।
तोरी तीन महिनामा उत्पादन लिन सकिने बाली हो । बजार मूल्य बढेका कारण पनि हिउँदे बालीका रूपमा तोरी खेती बढ्न थालेको छ । यहाँका किसानहरू गहुँ, मुसुरो खेतीलाई कम गर्दै तोरी खेतीमा लाग्ने क्रम बढेको छ । कञ्चनपुरको बेलौरीका अर्का किसान श्याम रिजालले पोहोर साल तोरीको तेल प्रतिलिटर ४ सयदेखि ४२० रुपैयाँसम्म किनेर खाएको स्मरण गर्दै भन्नुभयो, "हामीले ४ सयदेखि ४२० रुपैयाँसम्म किनेर खाएका थियौँ । त्यसले गर्दा रेट पनि राम्रै थियो । गएको वर्ष क्विन्टलको १० हजार रुपैयाँसम्म पुगेकाले तोरी खेतीबाट पनि राम्रै हुन्छ भन्ने सोचेर गरेका हौँ ।"
कञ्चनपुर जिल्लामा २ हजार ३ सय हेक्टर क्षेत्रफल जमिनमा तेलहन बाली लगाउने गरिएको छ । गत वर्ष एक दशमलव १ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन भएको तेलहन बालीमा यस वर्ष १० देखि १२ प्रतिशतसम्म उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । हिउँदमा १ हजार ४ सय र वर्षातमा ९ सय हेक्टरमा तेलहन बाली लगाइने कञ्चनपुरमा हिउँदे याममै ८ सय हेक्टर बढी क्षेत्रफलमा तोरी खेती गरिन्छ । कञ्चनपुरमा अहिलेको हिउँदे याममा १० करोड मूल्य बराबरको तोरी उत्पादन हुने र कञ्चनपुर जिल्ला तेलहनमा आत्मनिर्भर हुने अपेक्षा गरिएको छ । रोग किराको प्रकोप कम भएपछि किसान पुनः तोरी खेतीमा आकर्षित भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशी बताउनु हुन्छ ।
यसअघि छिटपुट रूपमा घरायसी प्रयोजनका लागि तोरी खेती गर्ने थुप्रै किसानहरू अहिले व्यावसायिक रूपमै तोरी खेती गर्न उत्सुक देखिएका छन् । तोरी बालीमा किसानको आकर्षणसँगै पकेट र ब्लकका कार्यक्रम थप्न सके व्यावसायिक किसानहरू बढी लाभान्वित हुने देखिन्छ । कोरोना महामारी सुरु भएपछि उपभोक्ता बजार मूल्य आकासिएको छ । त्यसैमा पनि खाने तेलको मूल्य भने दोब्बर बढीले वृद्धि भएको छ । नेपालमा वार्षिक ५० हजार टन तोरी तेल खपत हुने गरेकोमा झन्डै ९५ प्रतिशत बाहिरबाट आयात गर्नुपर्छ । पहाडका जमिन बाँझो रहनु र तराईका जमिन प्लटिङ हुनु तोरी लगायतको बालीनालीको उब्जनी कमी हुनुको मुख्य कारण हो । यद्यपि कञ्चनपुरका किसानले जस्तै तोरी खेती प्रवर्द्धन गर्ने हो भने आत्मनिर्भरता बढ्न सक्ने देखिन्छ ।