हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ मङ्सिर । कञ्चनपुरको पुनर्वासमा विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको छ । ‘प्रदर्शनी हेर्न सबै जाऔँ, हाम्रा नानीबाबुको हौसला बढाऔँ’ भन्ने मूल नारा सहित पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित पुनर्वास जनता माविको प्राङ्गणमा आज विद्यालय स्तरीय विद्यार्थीहरूको प्रतियोगितात्मक विज्ञान प्रदर्शनी गरिएको हो ।
कञ्चनपुरका पुनर्वास र बेलौरी तथा कैलालीका धनगढी र गोदावरी गरी ४ पालिकाका ४० विद्यालय सम्मिलित उक्त प्रदर्शनीले स्थानीय शैक्षिक क्षेत्रमा नयाँ ऊर्जा भरेको आयोजकले जनाएको छ । प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका नवीनतम वैज्ञानिक नमुना, दैनिक जीवनमा उपयोगी प्रविधिमूलक सामग्री, वातावरण संरक्षणका उपाय, रोबोटिक्स, ऊर्जा रूपान्तरण नमुनादेखि कृषिमा प्रयोग हुने स्मार्ट प्रविधिसम्मका सिर्जनात्मक सामग्री आकर्षणको केन्द्र बनेका छन् ।
आयोजक सुदूरपश्चिम आविष्कार केन्द्रका अध्यक्ष रामचन्द्र नेपालले विद्यार्थीकै हातमा भविष्यको विज्ञान र प्रविधि रहेको भन्दै यस्ता कार्यक्रमले सृजनशीलता बढाउन ठूलो भूमिका खेल्ने बताउनु भयो । उहाँले भन्नुभयो, "हाम्रा बालबालिकामा लुकेका क्षमतालाई बाहिर ल्याउने, उनीहरूलाई प्रयोगमै आधारित अध्ययनमा जोड्ने यस्तो प्रदर्शनी भविष्यका वैज्ञानिक उत्पादन गर्ने आधारशिला हो ।"
त्यसै गरी केन्द्रका सदस्य प्रकाश गैरेले सहभागी विद्यालयहरूको उत्साह प्रशंसनीय रहेको बताउँदै, प्रतिस्पर्धा मात्र नभई सिकाइ आदानप्रदानका रूपमा पनि कार्यक्रम सफल बनेको बताउनु भयो । "विद्यार्थीका हातबाट उत्पादित नमुना सामग्रीहरू हेर्दा हाम्रो क्षेत्र कति सम्भावनायुक्त छ भन्ने झल्किन्छ । अभिभावक र शिक्षकको उपस्थिति झनै हौसलाजनक रह्यो" उहाँले भन्नुभयो ।
कार्यक्रमको संरक्षकत्व गरेको पुनर्वास नगरपालिकाले आगामी वर्षहरूमा प्रदर्शनीलाई अझ विस्तृत बनाउँदै विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितको पहुँच विस्तार गर्ने तयारी भइरहेको जनाएको छ । स्थानीय समुदायको ठूलो भीड, विद्यार्थीहरूको वैज्ञानिक कौशलताले भरिएको प्रदर्शन र विद्यालयबीचको स्वस्थ प्रतिस्पर्धाले पुनर्वासमा आजको दिन विज्ञान र सृजनशीलताको पर्वझैँ बनेको छ ।