कञ्चनपुर, ०८ बैशाख । कञ्चनपुरको बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि नागरिक स्तरबाट दबाबमूलक कार्यक्रम गरिएको छ । बेलौरी उद्योग वाणिज्य संघ र नागरिक समाजको अगुवाइमा शुक्रबार बेलौरी बजारको भीमदत्त चोकबाट कार्यक्रम गर्दै छोटी भन्सार कार्यालय नजिक पुगेर विगत ६ महिनादेखि बन्द रहेको तालाबन्दी खुलाएर कार्यालय सञ्चालनका लागि कोणसभा गर्दै सरकारलाई दबाब दिइएको छ ।
'क्षेत्रकै सम्बृद्धिको आधार, बेलौरीमा नाका भन्सार’ भन्ने मूल नारा सहित बेलौरी भन्सार कञ्चनपुर हो, किन लेख्यौँ कैलाली ? लगायतका नारा लगाइएको थियो । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा शीर्ष नेताहरूले बेलौरीलाई मूल भन्सारमा स्तरोन्नति गर्छौँ भनेको तर नेताहरू काठमाडौँ पुगेपछि आफूले बोलेको कुरा बिर्सिएको बेलौरीका इतिहासविद् केशव राज जोशीले दुखेसो पोख्नुभयो । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले बेलौरी छोटी भन्सारको स्तरबृद्धि नहुँदा दक्षिणी क्षेत्रका उद्योगी व्यवसायी मारमा परेको बताउनु भयो ।