कञ्चनपुर, १९ असार । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि चुनावी एजेन्डा लिएर पीताम्बर जोशीको प्यानल मतदाता माझ गइरहेको छ । आइतबार पीताम्बर जोशी प्यानलले बेलौरी, बेलडाँडी पुनर्वास क्षेत्रका उद्योगी व्यवसायीसँग भेटघाट गरेको छ । अध्यक्षका प्रत्याशी पीताम्बर जोशी सहित वाणिज्य उपाध्यक्षका प्रत्याशी धर्मसिंह रावल, महासचिवका प्रत्याशी खगेश्वर प्रसाद बोहरा सहितका पदाधिकारी भेटघाटमा व्यस्त रहेका छन् । पीताम्बर जोशी प्यानलका लागि पूर्व अध्यक्षहरू सहितका पदाधिकारी, वर्तमान अध्यक्ष जङ्ग बहादुर मल्ल सहितका पदाधिकारीहरू चुनावी प्रचारमा खटिएका छन् ।
वाणिज्य संघका वर्तमान अध्यक्ष जङ्ग बहादुर मल्ल, पूर्व महासचिव हेमराज जोशी सहित पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरूले मतदाता माझ संस्थागत विकास र हितका लागि एक पटक पीताम्बर जोशीलाई सहयोगका लागि अपिल गरिरहेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा हुने निर्वाचनमा पीताम्बर जोशी प्यानललाई वाणिज्य संघका पूर्व अध्यक्ष एव पदाधिकारीहरूले खुलेरै साथ समर्थन जनाउँदै मत मागिरहेका छन् । उनीहरूले वरिष्ठ उपाध्यक्षले अध्यक्षका लागि दाबी गर्नु चुनावमा सहभागी हुन प्राकृतिक न्यायिक सिद्धान्त अनुरूप उपयुक्त हुने भएकाले पीताम्बर जोशी प्यानलाई साथ समर्थन दिएको बताएका छन् ।
उनीहरूले एक व्यक्ति धेरै पटक अध्यक्ष रोज्दा अन्य व्यवसायीको हकहितका साथै नेतृत्व विकासमा प्रभाव पर्ने भएकाले पीताम्बर जोशीले अध्यक्षका लागि अघि सर्नु उपयुक्त भएकोले आफूहरूको साथ समर्थन रहेको बताएका छन् । वाणिज्य संघका वर्तमान अध्यक्ष जङ्ग बहादुर मल्लले अहिलेको आवश्यकता अनुरूप पीताम्बर जोशीको टिम निर्माण भएकोले संस्थागत विकासका लागि पीताम्बर जोशीको प्यानललाई बहुमतका साथ निर्वाचित गराउन आव्हान गरिरहेको बताएका छन् । पीताम्बर जोशी प्यानलमा अब्बल पदाधिकारी आएको भन्दै उनले सहयोगका लागि अपिल समेत गरेका छन् । पीताम्बर जोशी प्यानलबाट यसअघि वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ, सचिव राहुल भट्ट, कोषाध्यक्ष चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका छन् ।