कञ्चनपुर,२३ चैत्र । कञ्चनपुरका एक लाख ६१ हजार ८७५ बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । चैत २५ देखि वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालय कञ्चनपुरले तयारी गरेको हो । कार्यालयका प्रमुख शिवराज सुनारका अनुसार ५२४ खोप केन्द्रमार्फत खोप दिइने छ । खोप कार्यक्रम सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको र केन्द्रसम्म खोप पु¥याउने काम भइरहेको उहाँले बताउनुभयो ।
यस्तै बेलौरी नगरपालिकामा पनि टाइफाइड विरुद्धको खोप लगाउनका लागि आवश्यक तयारी पुरा भइसकेको बताइएको छ । बुधबार श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रको सभा हलमा टाइफाइड खोप अभियान सम्बन्धी वडा खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रमको आयोजना गरी सो सम्बन्धी जानकारी दिइएको छ । बेलौरी नगरपालिका वडा नम्बर ४ र ६ का जनप्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुख तथा प्रतिनिधि र स्वास्थ्य स्वयंसेविकाहरूलाई टाइफाइड खोप अभियान सम्बन्धी जानकारी दिन वडा खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
यही चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बेलौरी नगरपालिका भित्रका ५४ वटा खोप केन्द्रबाट १५ महिनादेखि १५ वर्षसम्मका १४ हजार ५ सय बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने बेलौरी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव मान बहादुर चन्दले जानकारी दिनु भएको छ । ११ हजार बालबालिकालाई सामुदायिक तथा संस्थागत विद्यालय र ३ हजार ५ सय बालबालिकालाई विभिन्न स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रका खोप केन्द्रमा टाइफाइड विरुद्धको खोप दिइने उहाँले बताउनु भयो । यस्तै टाइफाइड विरुद्ध दिइने खोपको प्रभावकारिता तथा टाइफाइड रोगका लक्षण, सर्ने तरिका, रोगले निम्त्याउने असर बारे श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका प्रमुख गोविन्द बहादुर बिष्टले प्रष्ट्याउनु भयो । २०० जनासम्म विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र तोकिएको छ । टाइफाइड विरुद्ध दिइने खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ । 