माधव पौडेल / हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ जेठ । पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको राष्ट्रिय अभियानअन्तर्गत स्थानीय तहमा लक्षित उमेर समूहका सबै बालबालिकाले नियमित रूपमा खोप सेवा प्राप्त गरिसकेको पुष्टि भएपछि कञ्चनपुरका लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।


लालझाडीमा के के भयो ?
आइतबार लालझाडी गाउँपालिकामा आयोजित विशेष समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख तथा जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक दुर्गादत्त बोहराले गाउँपालिका अध्यक्ष निर्मल रानालाई प्रमाणपत्र हस्तान्तरण गर्दै औपचारिक रूपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्पन्न घोषणा गर्नुभयो ।
समारोहमा बोल्दै अध्यक्ष रानाले यो उपलब्धि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, समुदाय, वडा र पालिकाको सामूहिक प्रयासको नतिजा भएको उल्लेख गर्नुभयो । “सामूहिक प्रतिबद्धता, नियमित सेवा र जनचेतनाको समिश्रणबाट मात्र यस्तो लक्ष्य हासिल सम्भव हुन्छ,” उहाँले भन्नुभयो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशी, लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामी, खोप फोकल पर्सन जनकबहादुर कुँवर लगायतले कार्यक्रममा आ-आफ्ना धारणा राख्दै खोप अभियानले स्थानीय तहको स्वास्थ्य सूचक सुधारमा पुर्याएको योगदानबारे प्रकाश पार्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीका अनुसार अभियानअन्तर्गत वडास्तरमै तथ्यांक संकलन, अनुगमन र समन्वयमार्फत बालबालिकालाई लक्षित खोप सेवाको शतप्रतिशत पहुँच सुनिश्चित गरिएको छ । कार्यक्रममा खोप अभियानमा उल्लेखनीय भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सम्मानपत्र प्रदान गरी उत्साहजनक योगदानको कदर गरिएको थियो ।
यसअघि शुक्रबार वेदकोट नगरपालिकाबाट सुरुआत गरिएको यो अभियान अन्तर्गत अन्य पालिकामा पनि क्रमशः घोषणा गर्दै कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको नमूना जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको जिल्ला समन्वय समिति कञ्चनपुरले जनाएको छ ।