हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ असार । कञ्चनपुरको बेलौरी नगरपालिकाले नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान २०८३ अन्तर्गत पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम गरेको छ । “म स्वस्थ, मेरो समुदाय स्वस्थ : स्वस्थ बेलौरी, समृद्ध बेलौरी” भन्ने नारासहित आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, शिक्षक, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, महिला समूह, कृषि समूह, भलमन्सा तथा बाल क्लब लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि व्यक्तिगत, संस्थागत तथा सामूहिक रूपमा सातबुँदे प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतिबद्धतामा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बहिष्कार, नुन-चिनी-तेलको प्रयोग घटाउने, जंक फुड निरुत्साहित गर्ने, नियमित व्यायाम तथा योगलाई प्रोत्साहन गर्ने, मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्ने, मोबाइल तथा स्क्रिनको अत्यधिक प्रयोग नियन्त्रण गर्ने, बजारमा अखाद्य तथा म्याद नाघेका वस्तुको बिक्री रोक्ने तथा सडक सुरक्षाका लागि ट्राफिक नियम कडाइका साथ पालना गराउने विषय समेटिएका छन् ।
कार्यक्रमको अध्यक्षता बेलाैरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले गरेका थिए । उनले पछिल्लो समय अस्वस्थ खानपान र बदलिँदो जीवनशैलीका कारण मानिसहरूमा नसर्ने रोगको जोखिम तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै सबै नागरिक सचेत हुनुपर्ने बताए । उनले भने, “हाम्रो नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वस्थ नगर निर्माण गर्ने अभियानमा हामी दृढतापूर्वक जुटेका छौँ । यस अभियानलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग आवश्यक छ ।”
बेलौरी नगरपालिका स्वास्थ्य शाखाका सीअहेव मानबहादुर चन्दले कार्यक्रमको उद्देश्य समुदायमा नसर्ने रोगबारे जनचेतना अभिवृद्धि गर्नु, नियमित स्वास्थ्य परीक्षण तथा स्क्रिनिङलाई प्रोत्साहन गर्नु र स्वस्थ जीवनशैली अपनाउन सबै सरोकारवालालाई प्रतिबद्ध गराउनु रहेको बताए । उनले व्यक्तिले आफ्नो स्वास्थ्य राम्रो राख्न सके मात्र परिवार, समुदाय र राष्ट्रको स्वास्थ्य पनि सुदृढ बन्न सक्ने उल्लेख गर्दै अभियानलाई नगरव्यापी रूपमा विस्तार गरिने जानकारी दिए । साथै बेलौरी नगरपालिकालाई निकट भविष्यमा क्षयरोगमुक्त नगर घोषणा गर्ने तयारी भइरहेको पनि बताए ।
कार्यक्रमका मुख्य प्रशिक्षक स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले नसर्ने रोगको बढ्दो जोखिमबारे तथ्यांकसहित प्रस्तुति दिएका थिए । उनका अनुसार हरेक १०० जनामध्ये करिब ३० जनाको मृत्यु मुटु तथा रक्तनलीसम्बन्धी नसर्ने रोगका कारण हुने गरेको छ । उनले अस्वस्थ खानपान, धूमपान, मद्यपान, शारीरिक निष्क्रियता तथा तनावपूर्ण जीवनशैलीले नसर्ने रोगको जोखिम झन् बढाइरहेको बताए । समयमै स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ बानीको विकास गर्न सके यस्ता रोगबाट बच्न सकिने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका कोषाध्यक्ष मोहन विष्टले अभियान सफलताको शुभकामना व्यक्त गर्दै नसर्ने रोग नियन्त्रणका लागि भाषणभन्दा व्यवहार परिवर्तन आवश्यक रहेको बताए । उनले भने, “आफैँबाट सुरु गरेर व्यवहारमै परिवर्तन ल्याउन सके मात्र यस्तो अभियान प्रभावकारी हुन्छ । यस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दछु ।”
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आफ्नो-आफ्नो क्षेत्रबाट नसर्ने रोग नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतना फैलाउने प्रतिबद्धता जनाएका थिए । साेही कार्यक्रममा सहभागीकाे स्वास्थ्य परीक्षण समेत गरिएकाे थियाे । बेलौरी नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाले गरेको थियो । अभियानले बेलौरी क्षेत्रमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्दै नसर्ने रोगको जोखिम न्यूनीकरण र स्वस्थ समुदाय निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।