हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ असार । सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीच सहकार्य विस्तार गर्दै स्वास्थ्य प्रवर्द्धनमा सामूहिक पैरवी गर्ने उद्देश्यसहित कञ्चनपुरमा स्वास्थ्य प्रवर्द्धनका लागि सञ्चारकर्मी र स्वास्थ्यकर्मीसँग पैरवी कार्यक्रम गरिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको समन्वयमा सोमबार आयोजित उक्त कार्यक्रमले सूचना र सेवाबीचको सेतु निर्माण गर्न सञ्चारकर्मीको भूमिकालाई केन्द्रित गरेको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा स्वास्थ्य कार्यालय कञ्चनपुरको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले जिल्लाभर सञ्चालित स्वास्थ्य सेवा, चुनौती र योजनाहरूको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै स्वास्थ्य प्रणालीलाई अझ प्रभावकारी बनाउन सञ्चारको भूमिकालाई महत्त्वपूर्ण ठान्नु भयो । त्यस्तै, महाकाली प्रादेशिक अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले अस्पतालमा विशेषज्ञ सेवा प्रवाहको बारेमा जानकारी सार्वजनिक गर्नुभयो । उहाँले पछिल्लो केही वर्षयता महाकाली अस्पतालमा सर्प दंशका बिरामीहरूको पूर्ण सफल उपचारको सुखद तथ्याङ्क सुनाउनु भयो ।
स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले डेंगु, मलेरिया, कालाजारजस्ता रोग नियन्त्रणका प्रयासमा सञ्चारको निरन्तर साथले समुदायमा चेतना फैलाउन सघाएको उल्लेख गर्नुभयो । उहाँले समग्र नेपालको स्वास्थ्य अवस्था र सुदूरपश्चिमको स्वास्थ्य स्थितिबारे तुलनात्मक तथ्याङ्क प्रस्तुत गर्नुभएको छ । सो तथ्याङ्क अनुसार सुधार गर्नुपर्ने क्षेत्रहरूमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा कञ्चनपुर जिल्लाका ५० भन्दा बढी सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । खुला संवाद मार्फत प्रश्न र जिज्ञासा लिई त्यसको समाधानका बारेमा पनि छलफल गरिएको थियो । सहभागीहरूले सूचनाको प्रवाह, तथ्यमा आधारित रिपोर्टिङ र स्वास्थ्य सम्बन्धी नीतिगत संवादलाई अझ सशक्त बनाउन प्रतिबद्धता जनाएका छन् । कार्यक्रमले स्वास्थ्य क्षेत्रमा सञ्चारको जिम्मेवारीलाई अझ स्पष्ट पार्दै, स्थानीयदेखि केन्द्रीय तहसम्म स्वास्थ्य नीति निर्माणमा पत्रकारिता मार्फत चासो र प्रभाव बढाउने सङ्केत दिएको नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको भनाइ छ ।