सरोज ढुङ्गेल, काठमाडौँ, २२ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एकरूपता कायम गर्ने भएको छ। सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए । डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन् । यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतकै निकायले महँगो शुल्क लिने गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबिच मङ्गलबार भएको बैठकमा एकरूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको छैन। निजी क्षेत्रका अस्पताल र सरोकारवालाको समेत सुझावका आधारमा एक साताभित्रै सहमति गरिनेछ ।
डेङ्गु परीक्षणमा अस्पताल र प्रयोगशालापिच्छे फरक–फरक शुल्क लिने गरेको भन्दै उक्त शुल्कमा कोभिड–१९ परीक्षणजस्तै एकरूपता गर्ने विषयमा छलफल भएको हो। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले डेङ्गु परीक्षण शुल्कमा एकरूपता गरिने जानकारी दिनुभयो। केही दिनभित्रै डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने गरी सम्बन्धित निकायलाई सुझाव ल्याउन निर्देशन दिएको उहाँले बताउनुभयो । बैठकमा डेङ्गुको परीक्षण शुल्क, डेङ्गु नियन्त्रणका लागि भइरहेका प्रयास, काठमाडौँ महानगर तथा अन्य पालिकाले गरिरहेका कामलगायतका विषयमा छलफल भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले विभिन्न अस्पताल तथा प्रयोगशालाले मनपरी शुल्क लिने गरेको पाइएकाले तीन दिनदेखि एक साताभित्रमा डेङ्गुको शुल्क निर्धारण गरिने जानकारी दिनुभयो। बैठकले शुल्क निर्धारण गर्न नसकेको जानकारी दिँदै उहाँले सम्बन्धित निकायको सुझावको आधारमा तीन दिनदेखि एक साताभित्र डेङ्गु परीक्षण शुल्कमा एक रूपता गरिने बताउनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले डेङ्गु परीक्षणमा लिने गरेको शुल्कबारे छलफल भएको जानकारी दिनुभयो। उहाँले शुल्क निर्धारण गर्ने काम स्वास्थ्य मन्त्रालयको भएको बताउनुभयो। उपत्यकालगायत देशैभर डेङ्गुको प्रकोप बढ्दै जाँदा प्रयोगशाला र अस्पतालहरूले डेङ्गु परीक्षण शुल्कमा मनपरी रकम असुल्न थालेका छन्। सरकार मातहत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत डेङ्गु परीक्षण शुल्क आठ सय रुपियाँ तोकेको छ। शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालले भने पाँच सय रुपियाँमा नै डेङ्गु परीक्षण गराउने गरेका छन्। त्रिवि शिक्षण अस्पतालले डेङ्गु परीक्षणको शुल्क ९६० रुपियाँ लिने गरेको छ। प्राइभेट क्लिनिक (४ बजेपछि आउने बिरामी)को हकमा एक हजार दुई सय लिने गरेको छ। यस्तै निजामती अस्पतालमा आठ सय, पाटन अस्पतालमा एक हजार पाँच सय, भक्तपुर अस्पतालमा ७५० र छ सय, वीर र टेकुले पाँच सय रुपियाँ लिने गरेका छन् ।
निजी प्रयोगशालातर्फ भने विध ल्याबले एक हजार दुई सय, क्रिस्टल डाइग्नोस्टिक सेन्टरले एक हजार आठ सय, भरोसा अस्पतालले दुई हजार चार सय, हिमाल अस्पतालले तीन हजार चार सय, डिकोडले एक हजार पाँच सय र नर्भिक अस्पतालले एक हजार दुई सय रुपियाँ लिने गरेका छन्। जनस्वास्थ्य प्रयोगशालामा विश्व स्वास्थ्य सङ्गठनलगायतका दातृ निकायले निःशुल्क रूपमा डेङ्गु परीक्षण किट प्रदान गर्दछन्। यसअघि विश्व स्वास्थ्य सङ्गठनले सरकारलाई दुई लाख किट निःशुल्क वितरण गरेको थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले विश्व स्वास्थ्य सङ्गठनले डेङ्गु किट निःशुल्क रूपमा उपलब्ध गराएको जानकारी दिनुभयो। उक्त किट केन्द्रमा मात्र नभएर प्रदेश तहसम्म वितरण गरिएको डा. दासको भनाइ छ । याे समाचार गाेरखापत्रबाट साभार गरिएकाे हाे ।