हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ साउन । गत सोमबार रातिको भीषण वर्षापछि कैलालीको बुढीतोलामा पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला र २ तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । पहिरोका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । तर सोही राजमार्ग अवरुद्ध भएको निहुँ पारी कञ्चनपुर र कैलालीका तरकारी विक्रेताहरूले तरकारीमा अस्वाभाविक मूल्य वृद्धि गरेका छन् ।
बुढीतोलाको माथिल्लो क्षेत्रसम्म गाडीमा ढुवानी गरेर ल्याइए पनि पहिरो गएको स्थानमा भरिया लगाएर ढुवानी गर्नुपर्ने वा गाडीमै ल्याइए पनि जोखिम मोलेर ल्याउनु पर्ने भएको भन्दै कञ्चनपुर र कैलालीका विभिन्न बजार क्षेत्रमा व्यवसायीहरूले तरकारीको मूल्य ३० देखि ५० प्रतिशतसम्म वृद्धि गरेका छन् । ढुवानी भाडा बढी लागेको हुँदा थोरै मात्र मूल्य वृद्धि भएको कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनार स्विकार्छन् ।
तर कञ्चनपुर र कैलालीमा पनि तरकारी उत्पादन हुने तथा सल्यान लगायतका जिल्लाबाट र भारतबाट पनि तरकारी आयात गरिने हुँदा अहिले तरकारीको मूल्य वृद्धि गर्नुपर्ने अवस्था नरहेको कञ्चनपुरको बेलडाँडी बस्ने उपभोक्ता जानकी पन्तको बुझाइ छ । एउटा सडक अवरुद्ध भएको निहुँमा सबै तरकारीको मूल्य वृद्धि गर्नु व्यवसायीहरूको बदमासी भएको बेलौरी बस्ने उपभोक्ता श्यामलाल रिजालको भनाइ छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाबाट केही मात्रामा आलु, गोबी, टमाटर, तोरिया, करेला, लौका, भिण्डी, फर्सी, भण्टा, मुला, धनियाँ, काँक्रा लगायतका तरकारी र फलफूल बिक्रीका लागि तराईका कञ्चनपुर र कैलालीमा ल्याउने गरिएको छ । सुदूरपश्चिमका पहाडी ७ जिल्लाहरू मध्ये डडेलधुरामा सबैभन्दा बढी तरकारी उत्पादन हुने गरेको छ ।