किशोर तामाङ, कञ्चनपुर, ०७ भदौ । कञ्चनपुरको दक्षिणी भेग स्थित आईबिआरडीमा रहेको कुमारी बैङ्क लिमिटेड र प्रतिभानगर बजारमा रहेको टाउन हस्पिटल प्रा.लि. बिच उपचारमा सहुलियत दिने सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कुमारी बैङ्कका ग्राहकहरूले पुनर्वास नगरपालिका वडा नं. ६ मा रहेको टाउन हस्पिटल प्रा.लि. मा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैङ्कमा कार्यरत कर्मचारीहरू, बैङ्कका ग्राहकहरू र तिनका परिवारका सदस्यहरूले अस्पतालमा उपचार गराउँदा सेवामा छुट प्रदान गर्ने गरी अस्पताल र बैङ्क बिच सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट टाउन हस्पिटल प्रा.लि. का प्रबन्ध निर्देशक पवन पन्त तथा सिइओ वेदप्रकाश जोशी र कुमारी बैङ्क लिमिटेडका तर्फबाट बैङ्कका प्रदेश प्रमुख नवीन मुनि बज्राचार्य र आईबिआरडी शाखाका शाखा प्रबन्धक कृष्णराज जोशीले हस्ताक्षर गर्नुभएको छ । कुमारी बैङ्क लिमिटेड आफैमा एक प्रसिद्ध राष्ट्रिय स्तरको 'क' वर्गको वाणिज्य बैङ्क हो । बैङ्कले काठमाडौँ उपत्यका भित्र र बाहिर २९४ एटिएम सहितका ३०२ शाखा, ४९ वटा एक्सटेन्सन काउन्टर, ६२ शाखारहित बैङ्किङ इकाई मार्फत आधुनिक बैङ्किङ प्रविधि मार्फत बैङ्किङ सेवा प्रदान गर्दै आएको छ । कुमारी बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूलाई सहर क्षेत्र बाहिर ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका, आईबिआरडी शाखा र टाउन हस्पिटल प्रा.लि. बिच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतासँगै पुनर्वास नगरपालिकामा रहेका कुमारी बैङ्क शाखा कार्यालयमा कार्यरत कर्मचारीहरू तथा कुमारी बैङ्कका ग्राहकहरूले टाउन हस्पिटलमा उपचार गराउन आउँदा जुनसुकै प्रकारको अपरेसनमा १५ प्रतिशत छुट, डाईग्नोष्टिकमा १५ प्रतिशत छुट, ल्याब, एक्स-रे, ईसिजी, युएसजी, इको, टिएमटी, एबीपी, हल्टर, फिजियोथेरापी, बेड चार्जमा पनि १५ प्रतिशत छुट र सबै प्रकारका औषधीहरूमा ८ प्रतिशत छुट सेवा प्रदान गरिने अस्पतालका प्रबन्ध निर्देशक पवन पन्तले जानकारी दिनुभयो । इमर्जेन्सी, न्यूरोसर्जरी, कार्डियोलोजी, अर्थोपेडिक सेवा, ल्याब, युएसजी, एम्बुलेन्स सेवा र अन्य उपचारका लागि एक उत्कृष्ट निजी अस्पताल रहेको टाउन हस्पिटलका प्रबन्ध निर्देशक पन्तको दाबी छ ।
यस्तै, छुट सेवा प्रदान गरेकोमा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गर्दै बैङ्कका शाखा प्रमुख जोशीले यो सम्झौतासँगै पुनर्वास नगरपालिका, आईबिआरडी स्थित कुमारी बैङ्कको सहुलियत प्रदान गर्ने अस्पताल भएको बताउनु भयो । सम्झौता अनुसार हस्पिटलका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा ग्राहक वर्गले कुमारी बैङ्कको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसअघि कुमारी बैङ्कले भारतको नयाँ दिल्लीस्थित मेद्धान्त अस्पताल लगायत देश भित्रका अन्य अस्पतालहरू नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का आदिमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको छ ।