हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ असार । कञ्चनपुरमा समेत २१औँ राष्ट्रिय धान दिवस मनाइएको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सहित शनिबार राष्ट्रिय धान दिवस मनाइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुर र कृषि ज्ञान केन्द्र कञ्चनपुरको संयुक्त आयोजनामा शनिबार भीमदत्त नगरपालिका १६ मझगाउँमा आधुनिक कृषि यन्त्र उपकरणको सहायताबाट धान रोपाइ गरिएको छ । कञ्चनपुरका स्थानीय तहहरू र केही सङ्घसंस्थाहरूले पनि धान दिवस मनाएका छन् ।
परम्परागत ढङ्गबाट धान खेती हुँदै आएकोमा पछिल्ला केही वर्षयता आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग, नयाँ प्रविधिबाट खेती गर्ने कार्य र कृषकहरूलाई उन्नत जातको बिउ विजनको व्यवस्थापनले धान उत्पादनमा वृद्धि भएको पाइन्छ । तर जलवायु परिवर्तनका कारण मनसुन भित्रिन ढिलाइ हुँदा धान रोप्ने बेला पर्याप्त पानी नपर्ने र उत्पादन भित्र्याउने समयमा बढी पानी पर्ने गरेका कारण किसानहरू वर्षेनी मर्कामा पर्ने गरेका छन् । अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सुख्खा जातको धानको बिउ वितरण, रासायनिक मल कम गर्न भुईँघाँस तथा डालेघाँसको बिउ वितरण गर्ने र युवापुस्तालाई कृषि पेसामा आकर्षित गर्ने लगायतका कार्य भइरहेको कार्यालयको दाबी छ । पछिल्लो तीन वर्षयता धान रोप्ने मेसिन नै खरिद गरेर यन्त्र उपकरणको प्रयोग बढाउँदै लगेको कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमाल बताउनु हुन्छ ।
नयाँ प्रविधि अन्तर्गत केही ठाउँहरूमा ट्रेमा बिउ राख्ने, ट्रेमै बेर्ना उत्पादन गर्ने र रोप्ने बेला भएको बेर्नालाई ट्रेबाट सिधै उठाएर धान रोप्ने मेसिनमा राख्ने गरिन्छ । यन्त्र उपकरणको माध्यमबाटै खेत हिल्याई मेसिनले नै रोप्ने अभ्यास थालिएको छ । यसले बेर्ना राम्रो उत्पादन हुने, खेर नजाने, जनशक्ति पनि धेरै नचाहिने, लागत घट्ने र राम्रो उत्पादन लिन सकिने कञ्चनपुरका कृषक दशरथ धानुकले अनुभव सुनाउनु भयो ।
कृषि पेसामा युवाहरूलाई समेत आकर्षित गर्ने नीति सरकारले लिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सुनाउनु भयो । यद्यपि अनुदानका लागि मात्रै कृषि पेसामा लाग्ने तर उपलब्धि हासिल गर्न नसक्ने व्यक्तिहरूलाई निरुत्साहन गर्नुपर्ने र व्यावसायिक कृषि पेसामा संलग्न मेहनती कृषकहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ । उत्पादनमा वृद्धि गर्न वास्तविक किसानहरूलाई प्रोत्साहित गर्न र उत्पादकत्वको बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने अपरिहार्यता रहेको छ । मानव सिर्जित कारणले नै खेतीयोग्य जमिन मासिँदै गइरहेकोले त्यसतर्फ समयमै सचेत हुनुपर्नेमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले जोड दिनुभयो ।
कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिले पर्याप्त पानी नपरेको कारण जम्मा ३० प्रतिशत मात्रै धान रोपाइँ भएको तथ्याङ्कले देखाउँछ । कृषि पेसालाई व्यावसायिक रूपमा अवलम्बन गर्ने कृषकहरूलाई सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको समन्वय र सहकार्यमा अनुदानमा कृषि यन्त्र उपकरण, बिउ विजन र तालिम प्रदान गर्ने गरिएको छ । तर उक्त सुविधा प्रायः जसो पहुँचवालाहरूले मात्रै पाउने गरेको स्वयं किसानहरू बताउनु हुन्छ । कृषकहरूको माग अनुसार राज्यका सरोकारवाला निकायले कृषि औजार, बिउ विजन, मलखाद तथा प्राविधिक सहयोग गर्न सकेमा उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा गरिएको छ ।