अम्बा दत्त तिवारी, कैलाली, ११ जेठ । शिविरमा लौरो टेकेर आएकी ८० वर्षिया घुलिया चौधरी असाध्य खुसी थिइन् । आर्थिक अवस्था कमजोर रहेको र जीवनको उत्तरार्धमा रहेको स्वास्थ्यका कारण अस्पताल जान नसकेकी चौधरीले निःशुल्क उपचार पाएपछि यस्तो खुसी व्यक्त गरेकी हुन् । औषधी पनि निःशुल्क पाएपछि त उनमा खुसीको सीमा थिएन ।
घुलिया चौधरी मात्र होइन, निःशुल्क स्वास्थ्य शिविरमा ७८ वर्षका विपत् राम चौधरीले पनि निःशुल्क उपचार पाए । हाड जोर्नी सम्बन्धी बिरामी रहेका उनलाई विशेषज्ञ चिकित्सकले चेकजाँच गरी औषधी दिएपछि उनको पनि खुसीको सीमा थिएन । ‘हात खुट्टा दुख्छ, अस्पताल जान सकिँदैन, कैलारी गाउँपालिका र स्वस्तिक अस्पतालले गरेको स्वास्थ्य शिविरले धेरैलाई फाइदा भएको छ, म पनि खुसी छु’ उनले भने ।
शनिबार स्वस्तिक अस्पताल धनगढी र कैलारी गाउँपालिकाको आयोजना तथा नवजीवन सेवा संघकोे साझेदारीमा कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टामा रहेको जानकी माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा ४ सय ४६ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारीले बताए ।
जानकी माध्यमिक विद्यालय परिसरमा सञ्चालन गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियन डाक्टर सुनिल पाण्डे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर इन्द्र बहादुर शाह, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर प्रशान्त भट्ट र जनरल ल्याप्रोस्कोपिक सर्जन डाक्टर राजीव चौधरी, मिर्गौला तथा मूत्र रोग प्रणाली रोग विशेषज्ञ डाक्टर जोनस तिवारी र मेडिकल अधिकृतद्वय डाक्टर मधु स्वपना र डाक्टर सञ्जय विक्रम चौधरीले चेकजाँच गरेका थिए ।
गाउँमा विशेषज्ञ सेवा लिन पाएकोमा ७० वर्षीय परदेशी चौधरीले खुसी व्यक्त गरेका छन् । ‘गाउँमा धेरै बिरामीहरू आर्थिक अवस्था कमजोर भएकाले अस्पतालसम्म पुग्न सक्दैनन्, यसरी गाउँमा विशेषज्ञ सेवा पाउँदा खुसी लागेको छ’ उनले भने । निःशुल्क शिविरमा सेवा लिएकी बनकट्टाकी ६० वर्षीय पुनि देवी जाग्रीले अस्पतालको टिम र कैलारी गाउँपालिकालाई धन्यवाद दिइन् । ‘अस्पतालमा जान स्वास्थ्यले साथ दिँदैन, गाउँमै डाक्टर आएर औषधी दिए, खुसी भएकी छु’ उनले भनिन् ।
कैलारी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर चौधरीले शिविरको उद्घाटन गरेका थिए । उनले निःशुल्क स्वास्थ्य शिविर मार्फत स्थानीय वडावासीले स्वास्थ्य सेवा लिन पाएकोमा खुसी व्यक्त गरे । उद्घाटन कार्यक्रममा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पताल धनगढीका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारीले उच्चतम प्रविधि सहितको स्वस्तिक अस्पतालले विशेषज्ञ डाक्टर मार्फत गुणस्तरीय स्वास्थ्य सेवा दिन र स्वास्थ्यमा सबैको पहुँच पुगाउन निःशुल्क स्वास्थ्य शिविर अभियान सञ्चालन गरेको बताए ।
कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश कुमार चौधरीले स्वस्तिक अस्पतालसँगको सहकार्य तथा समन्वयमा २ दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने कार्यक्रम अनुसार पहिलो चरणमा कैलारी गाउँपालिका वडा नं. ६ को जानकी माध्यमिक विद्यालय परिसरमा गरेको दोस्रो चरणमा जेठ १७ गते शनिबारका दिन कैलारी गाउँपालिका वडा नं. १ को दीपेन्द्र माध्यमिक विद्यालय परिसरमा आयोजना गरिने बताए ।