हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ जेठ । क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकामा सञ्चालित क्षयरोग खोज तथा परीक्षण शिविरमा पहिलो दुई दिनमै ४८३ जनाले सेवा लिनु भएको छ । एआई एक्सरे परीक्षणबाट २९ जनामा क्षयरोगका सम्भावित लक्षण देखिएको बेलौरी नगरपालिका स्वास्थ्य शाखाका सि.अ.हे.व. मान बहादुर चन्दले जानकारी दिनुभयो ।बेलौरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सुरु गरिएको यो अभियान अन्तर्गत वडा नम्बर ५ र १० मा सञ्चालन गरिएका दुई शिविरमा उल्लेखनीय सहभागिता देखिएको छ ।
वडा नम्बर ५ स्थित बेवरी आधारभूत स्वास्थ्य केन्द्रमा मंगलबार सञ्चालन गरिएको पहिलो शिविरमा १०५ जना पुरुष र ६६ जना महिला गरी १७१ जनाको एक्सरे परीक्षण गरिएको थियो । तीमध्ये ७ जना पुरुष र २ जना महिला गरी ९ जनामा क्षयरोगको सम्भावित लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख जय सिंह बोहराले जानकारी दिनुभयो । त्यसैगरी, वडा नम्बर १० को भगवानपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बुधबार सञ्चालन गरिएको दोस्रो शिविरमा ८४ जना पुरुष र २२८ जना महिला गरी ३१२ जनाको परीक्षण गरिएको थियो । तीमध्ये ११ जना पुरुष र ९ जना महिला गरी २० जनामा क्षयरोगको आशंका गरिएको छ ।
शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. प्रतीक लेखक, रेडियोग्राफर निरीक्षक विरेन्द्र चन्द, स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षयरोग फोकल पर्सन नरेन्द्र रावल सहितको विशेषज्ञ टोली खटिएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जय सिंह बोहरा, क्षयरोग कार्यक्रम संयोजक दिनेश प्रसाद भट्ट, सि.अ.हे.व. मान बहादुर चन्द, स्वास्थ्य केन्द्र प्रमुख गंगाराज भट्ट लगायतको सक्रिय सहभागिता रहेको थियो ।
स्वास्थ्य शाखा प्रमुख बोहराका अनुसार, अभियानको उद्देश्य बेलौरीलाई क्षयरोग मुक्त बनाउनु हो । उहाँले संकास्पद लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिनुभयो । बेलौरी नगरपालिकाको वडा नम्बर ५ र १० पछि बिहीबार वडा नम्बर ४ मा पनि अभियान सञ्चालन गरिने छ । उक्त शिविर श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने बताइएको छ । स्थानीयवासीको उल्लेखनीय सहभागिता र सरकारी संयन्त्रको समन्वयले यस अभियानले क्षयरोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।