हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ जेठ । पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरका स्थानीय तहलाई लक्षित गर्दै घोषणा कार्यक्रमको औपचारिक सुरुवात वेदकोट नगरपालिकाबाट गरिएको छ । लक्षित उमेर समूहका सबै बालबालिकाले नियमित रूपमा खोप सेवा प्राप्त गरिसकेको पुष्टि भएपछि शुक्रबार वेदकोट नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । नगरपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख एवं जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक दुर्गादत्त बोहराले नगर प्रमुख भोजराज बोहरा र उपप्रमुख तुलसीदेवी जोशीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्पन्न घोषणा गर्नुभयो ।

समारोहमा सम्बोधन गर्दै संयोजक बोहराले यस वर्ष कञ्चनपुरमा वेदकोटबाट अभियानको शुभारम्भ गरिएको जानकारी दिनुभयो । “अब क्रमशः अन्य पालिकामा पनि घोषणा गरी कञ्चनपुर जिल्ला नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपनामा पुग्ने लक्ष्य लिएको छ,” उहाँले भन्नुभयो । नगर प्रमुख भोजराज बोहराले यो उपलब्धिलाई सामूहिक प्रयासको सफल परिणामको रूपमा उल्लेख गर्दै भन्नुभयो, “स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, समुदाय, वडा र पालिकाको ऐक्यबद्धताले मात्र यो सम्भव भएको हो ।” उपप्रमुख तुलसीदेवी जोशीले नियमित, समावेशी सेवा प्रवाहका माध्यमबाट लक्ष्य हासिल गरिएको उदाहरण प्रस्तुत गर्दै दिगोपना कायम राख्न आगामी दिनहरूमा अझ प्रतिबद्ध रहने प्रतिवद्धता जनाउनुभयो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकल पर्सन जनकबहादुर कुँवरका अनुसार अभियान २०७२ सालदेखि सञ्चालनमा छ र यसले हालसम्म उल्लेखनीय परिणामहरू दिएको छ । उहाँका अनुसार खोप सुनिश्चितता तथा दिगोपना नीति अन्तर्गत वडादेखि प्रदेशसम्म बहुपक्षीय संरचना बनाएर कार्यक्रम कार्यान्वयन हुँदै आएको छ । “एक जना पनि लक्षित बालबालिका खोप सेवाबाट वञ्चित नहोउन् भन्ने नै अभियानको मूल उद्देश्य हो,” कुँवरले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी, स्थानीय जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा खोप अभियानमा योगदान पु¥याएका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई सम्मानपत्र प्रदान गरी उत्साहजनक भूमिका निर्वाह गरेवापत कदर गरिएको थियो ।

