हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ असार । ‘धान बालीमा सघनता, खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नारासहित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ कञ्चनपुरमा पनि भव्य रूपमा मनाइएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कञ्चनपुरको संयुक्त आयोजनामा आइतबार भीमदत्त नगरपालिका-१५ स्थित कालिका टोलमा विविध कार्यक्रमहरू सहित धान दिवस मनाइएको हो ।

कार्यक्रमको औपचारिक उद्घाटन जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा लगायत अतिथिहरूले खेतमै मेसिनमार्फत रोपाइँ गरी गर्नुभयो । उद्घाटनसँगै खेतमा रमाइलो वातावरणमा रोपाइँ सुरु भएको थियो । धान दिवसकै अवसरमा महिला र पुरुषका लागि ‘हिले दौड’ तथा जनप्रतिनिधि, कर्मचारी र कृषकबीच डोरी तान्ने खेल आयोजना गरिएको थियो । यी प्रतियोगिता अत्यन्त रोचक बनेका थिए । विजयी कृषकहरूलाई पुरस्कार वितरण गरिनुका साथै रत्न कृषक समूहलाई कृषि सामग्रीसमेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रमको अध्यक्षता परियोजना इकाई कञ्चनपुरका प्रमुख सञ्जु रिमाल उपाध्यायले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा सहभागी हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशी, कृषि व्यावसायिक प्रबर्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख यज्ञराज जोशी, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार, कृषक महासंघका प्रतिनिधि र नागरिक समाजका अगुवाहरूको उल्लेख्य उपस्थिति थियो ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमका स्वागत मन्तव्य कृषि अर्थ विज्ञ ध्रुवराज जोशीले राख्नुभएको थियो । उहाँले धान दिवसको महत्त्व, धान खेतीमा नवीन प्रविधिको प्रयोग र किसानमैत्री नीतिको आवश्यकता औँल्याउनुभयो ।
प्रमुख अतिथि दुर्गादत्त बोहराले धानलाई नेपालको खाद्य सुरक्षाको मेरुदण्ड भन्दै वैज्ञानिक उत्पादन प्रणालीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सहायक सिडिओ मोहन चन्द्र जोशीले आत्मनिर्भरता नारामात्र नभई जिम्मेवारी पनि भएको उल्लेख गर्दै यस्तो महोत्सवले कृषकलाई नयाँ ऊर्जा दिने बताउनुभयो ।
कृषि व्यावसायिक प्रबर्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख यज्ञराज जोशीले गाईपालन र प्राविधिक तालिमका माध्यमबाट उत्पादन प्रणालीलाई मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो । परियोजना कार्यान्वयन इकाईका प्रमुख सञ्जु रिमाल उपाध्यायले परियोजनामार्फत उत्पादन वृद्धि, कृषक सशक्तिकरण र बजारीकरणमा केन्द्रित प्रयास जारी रहेको उल्लेख गर्दै यसपालिको धान दिवसले नविनतम सन्देश दिएको बताउनुभयो । कार्यक्रमको अन्त्यमा सामूहिकरूपमा दही चिउरा र जेरी खाएर महोत्सवको समापन गरिएको थियो ।
त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानीय तहहरू, कृषिसँग सम्बन्धित विभिन्न निकाय तथा संघसंस्थाहरूले पनि २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ लाई भव्य रूपमा मनाएका छन् । सहभागिता, प्रेरणा र परिश्रमको उत्सवका रूपमा मनाइएको यस धान दिवसले कञ्चनपुरको कृषि क्षेत्रमा नयाँ ऊर्जा थपेको आयोजकहरूको विश्वास छ ।