कञ्चनपुर, १४ साउन । नेकपा (एमाले) ले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा दोस्रो वडा अधिवेशन गरेको छ । बुधबार शान्तिपुरको पोखरी कटेजमा वडा कमिटी सदस्य रेखा देवी रानाको अध्यक्षतामा आयोजित अधिवेशनमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रामबहादुर स्वर्णकार प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

अधिवेशनमा विशिष्ट अतिथि जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, जिल्ला सचिवालय सदस्य धनेशदत्त पन्त, जिल्ला कमिटी सदस्य गीता जैसी, लालबहादुर चौधरी, सुरेन्द्र शाही लगायतका नेताहरूको उपस्थिति थियो । कार्यक्रममा नेकपा (एमाले) बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाही, उपाध्यक्ष सहवीर महत्तरा, सचिव हस्तबहादुर बिक, उपसचिव मिस्रीलाल राना, जिल्ला सल्लाहकार समिति सदस्य अर्जुन ढकाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका केन्द्रीय सदस्य कृष्णनाथ योगी लगायतको उल्लेखनीय सहभागिता थियो ।

अधिवेशनले महिला नेतृ रितू गैरेको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । पार्टीको समावेशी नेतृत्व सुदृढ बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनबाट सर्वसम्मत रूपमा वडा कमिटी चयन गरिएको बताइएको छ । नवगठित वडा कमिटीमा अध्यक्ष रितू गैरेसहित उपाध्यक्ष शोभा राना, सचिव गणेशप्रसाद सुवेदी, उपसचिव कमला रिजाल र पूजा चौधरी राना चयन हुनुभएको छ । सदस्यहरूमा रेखा राना, ठाकुरप्रसाद पौडेल, बुद्धिराम चौधरी, विपन राना, हरिलाल राना, इन्द्र सुवेदी, हरिलाल गैरे, विमला बिक, कुस्मा राना र तुलसी महत्तम चयन हुनु भएको छ । बाँकी ६ जना सदस्य पछि मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष रितू गैरेले जानकार दिनुभयो ।

कार्यक्रमका अतिथिहरूले नवगठित वडा कमिटीलाई बधाई दिँदै पार्टीलाई आधारभूत संरचनाबाट मजबुत बनाउन नवनिर्वाचित टोलीको भूमिका निर्णायक हुने विश्वास व्यक्त गर्नुभएको छ । अधिवेशनले पार्टी भित्रको महिला सहभागिता र नेतृत्व विकासमा नयाँ उदाहरण स्थापित गरेको भन्दै सहभागीहरूले सकारात्मक मूल्याङ्कन गरेको बताइएको छ ।