हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ साउन । नेकपा (एमाले) का सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले राष्ट्रियताको पक्षमा कठोर भएर उभिने नेतृत्व भएकै कारण नेकपा (एमाले) माथि बारम्बार प्रहार हुने गरेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले सचिव भट्टले केपी शर्मा ओलीको नेतृत्वकै आवश्यकता महसुस गरी त्यसमा देखिएको छेकबार पोलिटब्युरोले भत्काएको उल्लेख गर्नु भएको छ । "केपी ओली खराब हुन् कि भन्ने मान्छेहरू खराब हुन् । पहिला देवत्वकरण गर्ने पनि उनै, अहिले दानवीकरण गर्ने पनि उनै । भनेपछि खराब ओली कि विरोध गर्ने भन्ने मान्छे ?" भट्टले प्रश्न गर्नुभयो । उहाँले थप्नुभयो, "ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने व्यक्ति नेपालमा छैनन् । ओलीमाथिको समर्थन देवत्वकरण होइन, अहिलेको आवश्यकता हो । ओलीविनाको एमाले र एमालेविनाको देश सम्भव छैन भन्ने वस्तुस्थिति हो ।"

भट्टले पूर्व राष्ट्रपतिलाई सम्मानित भएर बस्न एमालेले सुझाव दिइसकेको उल्लेख गर्दै गणतन्त्रको गरिमा र गौरवका रूपमा सम्मान गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो । उहाँले केपी शर्मा ओलीको अद्भुत क्षमता बुझ्न समय लाग्ने उल्लेख गर्दै भन्नुभयो, “उहाँले महाकाली किनारबाट मेची किनार देख्नुहुन्छ, म नारायणीसम्म देख्छु । कसैले चिसापानीसम्म मात्र देख्छन् । त्यसैले उहाँको दृष्टि र कदम बुझ्न समय लाग्छ ।” उहाँले वर्तमान अवस्थामा वैचारिक र सैद्धान्तिक रूपमा एमाले नै कम्युनिष्ट आन्दोलनको केन्द्र भएको दाबी गर्दै राष्ट्रियताका लागि नेतृत्व केपी ओली नै भएको दोहोर्याउनु भयो । “शक्ति, सङ्गठन र समर्थनमा एमाले एक नम्बरको पार्टी हो । केही आन्तरिक समस्या भए पनि सुधारका लागि स्वयं सच्चिनुपर्नेछ” सचिव भट्टले भन्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पनि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई राष्ट्रको आवश्यकता भएको धारणा राख्नुभयो । उहाँले वर्तमान राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता प्रधानमन्त्री ओली भएको स्पष्ट पार्नुभयो । "अहिलेको चुनौतीको सामना गर्न दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसँग मात्र छ", उहाँले भन्नुभयो । उहाँले प्रेस चौतारी नेपालले पत्रकारिताको नयाँ दिशा निर्माणमा नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याउँदै वर्तमान युग प्रविधिमैत्री र न्यु मिडिया अनुकूल पत्रकारिताको युग भएको बताउनुभयो । अध्यक्ष पाण्डेले प्रेस चौतारीको उद्देश्य मात्र सङ्गठन विस्तारमा सीमित नरहेको स्पष्ट पार्दै समाजको आवश्यकता, जनताको चाहना र सत्यको पक्षमा अडिग सूचना प्रवाह गर्न सक्षम पत्रकारिता निर्माणमा आफूहरू संलग्न रहेको उल्लेख गर्नुभयो ।
उक्त प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्र इन्चार्ज भानुभक्त ढकालले पार्टीका आन्तरिक विषय सार्वजनिक रूपमा उठाउने अभ्यास पार्टी अनुशासन विपरीत भएको बताउनु भएको छ । उहाँले पार्टीको आलोचना गर्ने अधिकार भए पनि सम्बन्धित ठाउँमा राखिनुपर्ने स्पष्ट पार्नुभयो । "केपी ओली विनाको एमाले बनाऊँ भन्न पाइन्छ, म बन्छु, उहाँभन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ" ढकालले भन्नुभयो, "तर भन्ने कुरा ठाउँमा भन्नुपर्छ, कुठाउँमा भन्नु हुँदैन ।" ढकालका अनुसार दुई कार्यकालको सीमा र ७० वर्षको उमेर हदबन्दी हटाउने निर्णय कुनै व्यक्ति विशेषका लागि नभई, पार्टीको सामूहिक सोचविचारको उपज हो ।
उहाँले भन्नुभयो, "यो निर्णय सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सोचविचारबाट भएको हो । महाधिवेशनमा लड्न छुट त सबैसँग छ तर विधि र विधान विपरीत हल्ला गर्दै हिँड्नु अनुचित हो ।" ढकालले यस्ता गतिविधि पार्टी नीति विपरीत, नैतिकता विहीन र गैरजिम्मेवार हुने टिप्पणी गर्नुभयो । उहाँले थप्नुभयो, "पार्टीभित्र सबैले ओली चाहिन्छ भन्नुहुन्छ, बैठकमा पनि उहाँकै नेतृत्वमा पार्टी अघि बढोस् भन्ने चाहना छ तर बाहिर देशी-विदेशी षड्यन्त्रसँग सहमत हुने कुरा पार्टी हित विपरीत हुन्छ ।" ‘मिसन ०८४’ को कमाण्ड केपी शर्मा ओली नै रहने कुरामा पनि ढकालले स्पष्टता दिनुभएको छ । उहाँका अनुसार यस विषयमा पार्टीभित्र सर्वसम्मत निर्णय भइसकेको छ । "यो पार्टीको सर्वसम्मत फैसला हो", उहाँले भन्नुभयो ।
नेकपा (एमाले) पोलिटब्युरो सदस्य निरुदेवी पालले ‘केपी ओलीविनाको एमाले र एमालेविनाको समृद्ध नेपाल’ असम्भव रहेको स्पष्ट पार्नुभएको छ । उहाँले एमाले केन्द्रीय कमिटीको निर्णय नै विधान महाधिवेशनको सार र सङ्केत भएको उल्लेख गर्दै यो सन्देश र समर्थनमा हरेक एमालेजन तयार रहेको र रहने स्पष्ट पार्नुभयो । "अरू धेरै बुझ्न जरुरी छैन" उहाँले भन्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मिसन ०८४ अभियान र पार्टीको नेतृत्व निरन्तरताका लागि अध्यक्ष ओलीकै अपरिहार्यता रहेको उहाँले बताउनुभयो । नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा लगायतले पनि प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नुभयो । प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष नरेन्द्र कार्कीका अनुसार सो प्रशिक्षण कार्यक्रममा प्रदेशभरबाट प्रेस चौतारीका प्रतिनिधिहरू, क्रियाशील पत्रकार र पार्टीका प्रचार विभागमा संलग्न कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रह्यो । प्रशिक्षण कार्यक्रममा सङ्गठन सुदृढीकरण, सशक्त सञ्चार रणनीति, प्रेस स्वतन्त्रताको सुदृढीकरण र आगामी कार्य योजना बारे गहिरो छलफल गरिएको प्रदेश अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।