हरिश्चन्द्र बाग, कञ्चनपुर, २० माघ । गणित विषयप्रति विद्यार्थीहरूमा सकारात्मक धारणा विकास गर्न, गणितीय ज्ञान र सीपमा क्षमता अभिवृद्धि गराउन तथा गणितलाई चासोको विषयका रूपमा स्थापित गर्ने उद्देश्यले गणित शिक्षा परिषद्ले राष्ट्रिय स्तरको गणित हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । तीन चरणमा सञ्चालन हुने यस प्रतियोगिताअन्तर्गत जिल्ला स्तर, प्रदेश स्तर र राष्ट्रिय स्तरका हाजिरीजवाफ कार्यक्रम रहनेछन् ।
यसै क्रममा पहिलो चरणका रूपमा जिल्ला स्तरीय र दोस्रो चरणका रूपमा प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता गणित शिक्षा परिषद्, सुदूरपश्चिम प्रदेश समितिले आयोजना गर्न लागेको हो । यस वर्ष सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, दार्चुला, बैतडी र डोटी गरी पाँच जिल्लामा जिल्ला स्तरीय अन्तरविद्यालय गणितीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने परिषद्का प्रदेश अध्यक्ष हर्ष बहादुर चन्दले जानकारी दिनुभयो ।
माघ २४ गते एकै दिन पाँच जिल्लामा प्रतियोगिता ।।
आयोजकका अनुसार प्रतियोगिता यही माघ २४ गते शनिबार बिहान १०:०० बजे देखि सम्बन्धित जिल्लामा विद्यार्थीहरूलाई सहज हुने स्थानमा सञ्चालन गरिनेछ । प्रतियोगिता छनोट चरण र प्रतिस्पर्धात्मक चरण गरी दुई चरणमा सम्पन्न गरिनेछ । प्रतियोगितामा प्रत्येक विद्यालयबाट १ जना गणित शिक्षकसहित २ वा ३ जना विद्यार्थी सम्मिलित एक समूहले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ विद्यालयहरूले यही माघ २२ गतेभित्र अनिवार्य रूपमा टिम दर्ता गरिसक्नुपर्नेछ ।
उत्कृष्ट टिमलाई पुरस्कार र राष्ट्रिय प्रतियोगिताको अवसर ।।
जिल्ला स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई नगद पुरस्कार, मेडल, प्रमाणपत्र, ट्रफी तथा शैक्षिक सामग्री प्रदान गरिनेछ । पाँच वटै जिल्लाबाट छनोट हुने १० टिम बीच प्रदेश स्तरिय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिनेछ । प्रदेश स्तरबाट उत्कृष्ट हुने दुई टिमलाई राष्ट्रिय स्तरको गणित हाजिरीजवाफ प्रतियोगिताका लागि सिफारिस गरिने गणित शिक्षा परिषद्, सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।
सामुदायिक र संस्थागत विद्यालयलाई सहभागिताको आग्रह ।।
गणित विषयलाई नयाँ र व्यवहारिक ढंगले सिक्ने तथा सिकाउने वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा प्रदेशका सबै सामुदायिक तथा संस्थागत विद्यालयका गणित शिक्षक र विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ । प्रदेश अध्यक्ष हर्ष बहादुर चन्द ले भन्नुभयो, “गणितप्रति डर होइन, चासो र आत्मविश्वास विकास गर्न यस्तो प्रतियोगिता प्रभावकारी माध्यम बन्छ । त्यसैले सबै विद्यालयले आफ्नो विद्यालयको प्रतिनिधित्व हुने गरी सहभागिता जनाउनुपर्छ ।”
टिम दर्ता र शुल्क विवरण ।।
प्रत्येक टिमको दर्ता शुल्क रु ५०० तोकिएको छ । जिल्ला स्तरबाट छनोट भएर प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा थप शुल्क लाग्ने छैन । टिम दर्ता गर्ने अन्तिम मिति यही माघ २० गतेसम्म तोकिएकोमा दुई दिन थप गरिएको छ । दर्ता शुल्क गणित शिक्षा परिषद्, प्रदेश समितिमा रहेका प्रतिनिधिलाई नगद वा पत्रसाथ पठाइएको QR Code मार्फत जम्मा गर्न सकिनेछ । फाराम र भुक्तानी रसिद WhatsApp मार्फत पनि पठाउन सकिनेछ ।
सम्पर्क विवरण :
हर्ष बहादुर चन्द (प्रदेश अध्यक्ष) 📞 ९८६८७४८९७२
सुदर्शन प्रसाद भट्ट (प्रदेश सचिव) 📞 ९८५८७५१६८०
📧 Email: [email protected]
🌐Website: https://www.mathscouncil.edu.np
