माधव पौडेल, कञ्चनपुर, २३ माघ । कञ्चनपुरको बेलौरी नगरपालिकाको सभाहलमा न्यायिक समितिको आयोजनामा बिहीबार श्रम ऐन तथा बाल श्रम रोकथामसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रमको अध्यक्षता बेलौरी नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक जोगराम चौधरीले गर्नुभएको थियो ।

कार्यक्रममा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर बुढाथोकी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरूमा प्रशासकीय अधिकृत झपिराज ओझा, न्यायिक समिति सदस्यद्वय शिवराज राना र आरती कुमारी चौधरी, सूचना अधिकारी राजेन्द्र बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा न्यायिक समिति सदस्य आरतीकुमारी चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो । अन्तरक्रियामा बेलौरी नगरपालिका वडा नं. १ देखि १० सम्मका जनप्रतिनिधि, बाल क्लबका प्रतिनिधि, स्थानीय होटल व्यवसायी, श्रमिक प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा न्यायिक समितिका उजुरी प्रशासक विनोद चौधरीले न्यायिक समितिले गर्ने काम, अधिकार क्षेत्र तथा स्थानीय तहमा देखिने विभिन्न विवाद समाधान प्रक्रियाबारे जानकारी गराउनुभयो ।

अन्तरक्रियाका क्रममा अधिवक्ता प्रमानन्द ओझा र रोजगार सेवा केन्द्र बेलौरीका रोजगार संयोजक नरेश प्रसाद भट्टले श्रम ऐन तथा बाल श्रम रोकथामसम्बन्धी कानुनी प्रावधानबारे जानकारी गराउँदै बालबालिकालाई जोखिमयुक्त काममा लगाउन नपाइने, श्रममा संलग्न गराउन पाइने न्यूनतम उमेर, श्रमिकको पारिश्रमिकसम्बन्धी अधिकार, श्रम शोषण रोकथाम तथा कानुन उल्लङ्घन गरेमा हुने सजायका विषयमा प्रस्ट पार्नुभयो ।
कार्यक्रमको समापन गर्दै उपप्रमुख चौधरीले बेलौरी नगरपालिकाले श्रम शोषण तथा बाल श्रम न्यूनीकरणका लागि विभिन्न पहल गर्दै आएको उल्लेख गर्नुभयो । साथै न्यायिक समितिमा ज्याला ठगीसम्बन्धी उजुरी आउने गरेको बताउँदै सबै सरोकारवालाले कानुनको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।