हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ माघ । गणित शिक्षा परिषद् सुदूरपश्चिम प्रदेश कार्यसमिति तथा जिल्ला कार्यसमितिहरूको संयुक्त प्रयासमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गणितीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रदेशका चारवटा स्थानमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा जम्मा ९० वटा टिमको सहभागिता रहेको थियो । जिल्लागत रूपमा कञ्चनपुरबाट ३७, कैलालीबाट ३७ र दार्चुलाबाट १६ वटा टिम सहभागी भएका थिए ।

कञ्चनपुर जिल्लामा प्रदेश अध्यक्ष हर्षबहादुर चन्द, प्रदेश सचिव सुदर्शन भट्ट, प्रदेश सहसचिव राजेन्द्र प्रसाद पाण्डेय तथा जिल्ला संयोजक परमानन्द नाथको सामूहिक पहलमा जिल्ला समिति आयोजक रहने गरी महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीमा प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगिताका लागि लिटिल बुद्ध एकेडेमीले हल, खाजा तथा खानाको व्यवस्था गरेको थियो भने प्रभात विद्या निवेदनले शैक्षिक सामग्री प्रदान गरेको थियो । छनोट चरण र स्टेज अन क्विज गरी दुई चरणमा सम्पन्न कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो ।

त्यसैगरी कैलाली जिल्लाको लम्कीस्थित जनजागृति माध्यमिक विद्यालयमा प्रदेश उपाध्यक्ष पुष्कर सिंह बोहराको नेतृत्वमा २१ वटा टिमबीच गणितीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । उक्त कार्यक्रमलाई मल्टि बुक स्टोर, लम्कीले प्रायोजन गरेको थियो । कैलालीकै धनगढी मोडेल टेक्निकल माध्यमिक विद्यालयमा प्रदेश कार्यसमिति कोषाध्यक्ष राधा बिष्टको नेतृत्वमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । जिल्लाका शिक्षकहरूको सहयोगमा सम्पन्न प्रतियोगितामा १६ वटा टिम सहभागी भएका थिए ।

त्यसैगरी दार्चुला जिल्लामा जिल्ला कार्यसमिति अध्यक्षको विशेष पहल तथा उहाँको टिम र प्रदेश सदस्य खडक लोथ्यालको संयुक्त प्रयासमा १६ वटा टिमको सहभागितामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।

जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताका लागि छनोट भएका विद्यालयहरूको विवरण अनुसार कञ्चनपुरबाट लिटिल बुद्ध एकेडेमी (A), लिटिल बुद्ध एकेडेमी (B), मोर्निङ ग्लोरी सेकेन्डरी स्कुल र महेन्द्रनगर मोडेल सेकेन्डरी स्कुल क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्दै छनोट भएका छन् ।

कैलालीबाट पायनियर्स एकेडेमी लम्की (A), राष्ट्रिय माध्यमिक विद्यालय बल्चौर, पायनियर्स एकेडेमी लम्की (B), एरिस्टो माध्यमिक विद्यालय, पञ्चोदय माध्यमिक विद्यालय (A) र पञ्चोदय माध्यमिक विद्यालय (B) प्रदेश स्तरका लागि छनोट भएका छन् । दार्चुलाबाट महेन्द्र माध्यमिक विद्यालय खलङ्गाका चारवटा टिम छनोट भएका छन् ।

यसरी जम्मा १४ वटा टिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताका लागि छनोट भएका छन् । फागुन महिनामा यी १४ वटै टिमबीच प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिनेछ । उक्त प्रतियोगिताबाट छनोट हुने शीर्ष दुई टिमलाई राष्ट्रिय स्तरको हाजिरी जवाफ प्रतियोगितामा सहभागिताका लागि सिफारिस गरिने प्रदेश कार्यसमितिले जनाएको छ ।

प्रदेश अध्यक्ष हर्षबहादुर चन्दले प्रतियोगिता सफल रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रदेश उपाध्यक्ष पुष्कर सिंह बोहरा, प्रदेश सचिव सुदर्शन भट्ट, प्रदेश सहसचिव राजेन्द्र प्रसाद पाण्डेय, कोषाध्यक्ष राधा बिष्ट, कञ्चनपुर जिल्ला संयोजक परमानन्द नाथ, दार्चुला जिल्ला अध्यक्ष इन्द्रराज भट्ट तथा उहाँको टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै खाजा, खाना तथा शैक्षिक सामग्री व्यवस्थापन गर्ने विद्यालय तथा स्टेशनरी व्यवसायीहरूलाई धन्यवाद व्यक्त गरिएको छ । प्रतियोगितामा सहभागी विद्यालय परिवार, शिक्षक, विभिन्न क्षेत्रका विद्वान् महानुभावहरू तथा अतिथिहरूलाई धन्यवाद दिँदै सहभागी विद्यार्थीहरूलाई धन्यवाद र छनोट भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।