ललितपुर । नेपाल बालकुमारी क्योकुशिन कराते संघको आयोजनामा पाँचौं संस्करणको ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८२ फागुन १ र २ गते ललितपुरको मंगलबजारमा भएको छ ।

संघले २०७६ सालदेखि निरन्तर रुपमा मेयर कप प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्षको प्रतियोगितामा पुरुषतर्फ १५० जना र महिलातर्फ १५० जना गरी जम्मा ३०० जना खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिता सञ्चालनका लागि निर्णायक, व्यवस्थापक, प्रशिक्षक तथा स्वयंसेवक गरी ५० जना जनशक्ति परिचालन गरिएको आयोजकले जनाएको छ । कराते खेलको प्रवर्द्धन, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको संघका पदाधिकारी देवराज महर्जनले जानकारी दिनुभयो ।

यस वर्षको नियमित ‘रामजी गुरु स्मृति नगद पुरस्कार’ अन्तर्गत सबै विधाका तौल समूहमा प्रथम स्थान हासिल गरेका खेलाडीहरूमध्येबाट गोलाप्रथामार्फत ५५ के.जी. तौल समूहकी महिला विजेता लक्ष्मी थिङ्गले नगद रु ५०,००० पुरस्कार प्राप्त गर्न सफल भएकी छन् ।

प्रतियोगितामा सबै तौल समूहका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई ट्रफी, शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो ।
