हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ फागुन । सुदूरपश्चिम विश्वविद्यालयले ‘सम्पदा, नवप्रवर्तन र रूपान्तरण’ (Heritage, Innovation and Transformation) विषयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । फागुन ५ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयको सभा हलमा सुरु हुने सम्मेलन फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । विश्वविद्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो ।
सम्मेलनका संयोजक तथा इन्जिनियरिङ संकायका डीन प्रा.डा. किशनदत्त भट्टले यसअघि सम्पन्न दुई संस्करणको सफलतापछि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा आयोजना गर्न लागिएको बताउनुभयो । सन् २०२२ र २०२५ मा सम्पन्न सम्मेलनको निरन्तरताका रूपमा सन् २०२६ मा तेस्रो संस्करण हुन लागेको उहाँले जानकारी दिनुभयो । “यो सम्मेलन शैक्षिक जमघट मात्र होइन, विगतको विरासत, वर्तमानको नवप्रवर्तन र भविष्यको रूपान्तरणलाई जोड्ने बौद्धिक सेतु पनि हो,” भट्टले भन्नुभयो, “अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानमार्फत विश्वविद्यालयको शैक्षिक स्तर अभिवृद्धि र प्राज्ञिक सञ्जाल विस्तार गर्ने हाम्रो लक्ष्य छ ।”

२३ देशको सहभागिता, २०० अनुसन्धान पत्र प्रस्तुति ।।
सम्मेलनमा विश्वका २३ देशबाट प्राध्यापक, विज्ञ तथा अनुसन्धानकर्मीहरूको सहभागिता रहने जनाइएको छ । करिब ३०० अनुसन्धान पत्रमध्ये झण्डै २०० वटा छनोट भई प्रस्तुतीकरणका लागि स्वीकृत भएका छन् । कार्यक्रममा ८ मुख्य सत्र र २५ उपविषयमा केन्द्रित छलफल हुनेछ । समाजशास्त्र, मानविकी, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि, वन, प्राकृतिक स्रोत व्यवस्थापन, स्वास्थ्य, जनसङ्ख्या, आप्रवासन, योजना, जलवायु परिवर्तन, व्यापार व्यवस्थापन, उद्यमशीलता र अर्थतन्त्र लगायतका बहुआयामिक क्षेत्रमा अनुसन्धानमूलक प्रस्तुतीकरण हुने बताइएको छ । उत्कृष्ट शोधपत्रहरू प्रतिष्ठित जर्नल तथा ISBN सहितको सम्मेलन कार्यवृत्तमा प्रकाशन गरिने व्यवस्था गरिएको छ ।
अनुसन्धानमुखी विश्वविद्यालयतर्फ कदम ।।
सम्मेलनका सहसंयोजक उपप्राध्यापक डा. दीपकचन्द्र भट्टले सम्मेलनले विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउने दिशामा महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँका अनुसार विश्व स्तरका विज्ञहरूको सहभागिताले विद्यार्थी र प्राध्यापकहरूलाई नयाँ विषयमा अनुसन्धान तथा प्रकाशनका लागि प्रेरणा प्रदान गर्नेछ । “ज्ञानले मात्र समाज रूपान्तरण गर्न सक्छ, नवप्रवर्तनले मात्र विकासलाई दिगो बनाउन सक्छ, र सहकार्यले मात्र भविष्य सुरक्षित गर्न सक्छ,” उहाँले भन्नुभयो, “यो सम्मेलन दिगो विकास लक्ष्य (SDGs) प्राप्तिका लागि साझा रणनीति निर्माण गर्ने मञ्च बन्नेछ ।”

३० लाख बजेट, प्रदेश प्रमुखद्वारा उद्घाटन ।।
वरिष्ठ लेखा अधिकृत अशोक भण्डारीका अनुसार करिब ३० लाख रुपैयाँको बजेटमा तीन दिने सम्मेलन आयोजना हुन लागेको हो । नेपाल मटेरियल साइन्स सोसाइटी, विश्वविद्यालय अनुदान आयोग तथा अन्य सरकारी निकायको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ । सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्ने कार्यक्रम रहेको छ । विश्वविद्यालय प्रशासनले सम्मेलन उपलब्धिमूलक, दीर्घकालीन र अन्तर्राष्ट्रिय प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । बहुविषयगत दृष्टिकोणमार्फत जलवायु परिवर्तन, प्रविधिगत क्रान्ति, जनसांख्यिकीय परिवर्तन, श्रम आप्रवासन, खाद्य सुरक्षा र सुशासनका चुनौतीबारे समाधानमुखी बहस हुने अपेक्षा गरिएको छ ।
