हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ फागुन । सुदूरपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘सम्पदा, नवप्रवर्तन र रूपान्तरण’ (Heritage, Innovation and Transformation) विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि औपचारिक रूपमा सुरु भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय सभाहलमा आयोजित सम्मेलनको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गर्नुभयो । सम्मेलन फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।
-1771349678.jpg)
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले विश्वविद्यालयहरू शैक्षिक प्रमाणपत्र वितरण गर्ने संस्था मात्र नभई समाज रूपान्तरणका बौद्धिक केन्द्र हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “सम्पदाको संरक्षण, नवप्रवर्तनको प्रवर्द्धन र रूपान्तरणको नेतृत्व विश्वविद्यालयहरूले नै गर्नुपर्छ,” उहाँले भन्नुभयो, “विश्व समुदायसँगको सहकार्यले सुदूरपश्चिमलाई ज्ञान, अनुसन्धान र प्रविधिको केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ ।” उहाँले जलवायु परिवर्तन, आप्रवासन, बेरोजगारी, प्रविधिगत परिवर्तन र सामाजिक असमानताजस्ता चुनौतीहरूको समाधान खोज्न अनुसन्धान र नीतिनिर्माणबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । “अन्तर्राष्ट्रिय सम्मेलनहरू अनुभव साटासाट गर्ने मात्र होइनन्, नीति र व्यवहारबीचको दूरी घटाउने अवसर पनि हुन्,” प्रदेश प्रमुख मियाँले भन्नुभयो ।
-1771349709.jpg)
सम्मेलनका संयोजक तथा इन्जिनियरिङ संकायका डीन प्रा.डा. किशनदत्त भट्टले २३ देशका विज्ञ तथा अनुसन्धानकर्मीहरूको सहभागिताले सम्मेलनलाई अन्तर्राष्ट्रिय स्वरूप दिएको बताउनुभयो । करिब ३०० अनुसन्धान पत्रमध्ये झण्डै २०० वटा प्रस्तुतीकरणका लागि छनोट गरिएको जानकारी दिँदै उहाँले उत्कृष्ट शोधपत्रहरू प्रतिष्ठित जर्नल तथा ISBN सहितको सम्मेलन कार्यवृत्तमा प्रकाशन गरिने बताउनुभयो ।
-1771349735.jpg)
सहसंयोजक उपप्राध्यापक डा. दीपकचन्द्र भट्टका अनुसार सम्मेलनमा ८ मुख्य सत्र र २५ उपविषयमा केन्द्रित छलफल हुनेछ । समाजशास्त्र, मानविकी, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि, वन, प्राकृतिक स्रोत व्यवस्थापन, स्वास्थ्य, जनसङ्ख्या, आप्रवासन, योजना, जलवायु परिवर्तन, व्यापार व्यवस्थापन, उद्यमशीलता र अर्थतन्त्र लगायतका क्षेत्रमा बहुआयामिक बहस हुने जनाइएको छ ।

करिब ३० लाख रुपैयाँको बजेटमा आयोजना गरिएको सम्मेलन नेपाल मटेरियल साइन्स सोसाइटी, विश्वविद्यालय अनुदान आयोग तथा विभिन्न सरकारी निकायको सहकार्यमा सञ्चालन भइरहेको छ । विश्वविद्यालय प्रशासनले सम्मेलनले सुदूरपश्चिमलाई अनुसन्धान र प्राज्ञिक सहकार्यको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञबीच ज्ञान आदानप्रदान, अनुसन्धान प्रस्तुतीकरण र नीति संवादमार्फत दिगो विकास लक्ष्य प्राप्तिका साझा रणनीति निर्माण गर्ने अपेक्षा गरिएको छ ।
-1771349859.jpg)