हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ बैशाख । “गरौँ योग, रहौँ निरोग” भन्ने मूल नारासहित कञ्चनपुरको बेलौरी नगरपालिकामा ६ दिवसीय योग प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । पतञ्जलि योगपीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल तथा युवा नेपाल समितिको समन्वयमा आयोजना हुन लागेको उक्त कार्यक्रम बेलौरी नगरपालिका शिक्षा शाखा तथा स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन हुन लागेको हो ।
कार्यक्रम यही बैशाख ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ । बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रम महाकाली माध्यमिक विद्यालयको विशेष कक्षा सभाहलमा आयोजना गरिने छ । नगर पतञ्जलि योग समिति बेलौरीको आयोजना तथा बेलौरी नगरपालिकाको सहयोगमा सञ्चालन हुने यस प्रशिक्षणमा विशेषगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई लक्षित गरिएको छ । प्रत्येक विद्यालयबाट अनिवार्य रूपमा एक जना शिक्षक वा शिक्षिका सहभागी गराउन नगरपालिकाले आग्रह गरेको छ । यसका साथै जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा योग अनुरागीहरूको सहभागिता समेत उल्लेख्य रहने बताइएको छ ।
सह योग शिक्षक प्रशिक्षण कार्यक्रमले समुदायस्तरमै स्वास्थ्य सचेतना समेत अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । यस कार्यक्रममार्फत सहभागीहरूलाई योगका आधारभूत सिद्धान्त, दैनिक अभ्यास, जीवनशैली व्यवस्थापन तथा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने उपायबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ । साथै, सिकेका सीपलाई आआफ्नो कार्यक्षेत्रमा विस्तार गर्दै विद्यालय, स्वास्थ्य संस्था तथा समुदायमा योग संस्कृतिको विकास र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।
कार्यक्रमको उद्घाटन बैशाख ३ गते बिहान १०:०० बजे हुने तय भएको छ । उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि तथा एक/एक जना छात्राछात्रा समेत उपस्थित गराउन अनुरोध गरिएको शिक्षा शाखाका अधिकृत अमित प्रसाद भट्टले जानकारी दिनुभयो । योग प्रशिक्षक विष्णु प्रसाद शर्मा न्यौपानेका अनुसार प्रशिक्षणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । यस प्रशिक्षण कार्यक्रममार्फत शिक्षकहरूमा योग सम्बन्धी ज्ञान, सीप र अभ्यास अभिवृद्धि गरी विद्यालयस्तरमै योग संस्कृतिको विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
