विकास सिंह महता, कञ्चनपुर, १४ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा पहिलो पटक अन्तर विद्यालय मावि स्तरीय टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । भीमदत्त नगरपालिका १० जिमुवास्थित होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो । विद्यालयले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नगरभित्रका माध्यमिक तहका विद्यालयबीच हुने प्रतियोगितामा १८ वटा टिम सहभागी हुनेछन् । प्रतियोगिता लिग नकआउट प्रणालीका आधारमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

होलीफेम्ली ईङलिश मिडियम स्कुलका सञ्चालक भुपाल सिंह विष्टले विद्यालयकै खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले भीमदत्त नगरपालिका, जिल्ला क्रिकेट संघ लगायत सरोकारवाला निकायको समन्वय, सहयोग र सहकार्यमा प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा खेलकुदप्रतिको आकर्षण बढाउनु, अनुशासन र नेतृत्व क्षमताको विकास गर्नु तथा स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नु रहेको छ । “खेलकुदले विद्यार्थीलाई सकारात्मक मार्गतर्फ डोर्याउँछ । समाजमा भाईचारा, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गराउने भएकाले हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ,” उनले भने । विष्टले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित र स्तरीय बनाउँदै लैजाने योजना रहेको पनि बताए ।
होलीफेम्ली ईङलिश मिडियम स्कुलका सहायक म्यानेजर महादेव प्रसाद भट्टले विद्यालयस्तरबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । “क्रिकेटको वृद्धि विकास गरेर दक्ष खेलाडी उत्पादन गर्नु हाम्रो मुख्य लक्ष्य हो,” उनले भने, “विद्यालय तहबाटै खेलाडीको अन्तरनिहित क्षमता प्रस्फुटन हुन्छ ।” भट्टले होलीफेम्ली स्पोर्ट्स एकेडेमीले यसअघि पनि थुप्रै क्रिकेट खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान बनाउन सफल भएको दाबी गरे । उनले जिल्लामै क्रिकेटको विकास र नयाँ प्रतिभा खोज्न प्रतियोगिता प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा सहभागी हुने सबै खेलाडीको उमेर १९ वर्षमुनि हुनुपर्ने प्रावधान राखिएको छ । प्रतियोगिताका सबै खेलहरू आईसीसी र क्यानको नियमअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरेर खेल सञ्चालन गरिनेछ । प्रतियोगितामा टिम दर्ता निःशुल्क गरिएको छ । प्रतियोगिताको विजेता टिमलाई नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमले नगद ३१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट फिल्डरलाई ट्रफीसहित २५/२५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । मेन अफ द सिरिजलाई ट्रफीसहित ३ हजार रुपैयाँ तथा उदयमान खेलाडी र प्रत्येक खेलका मेन अफ द म्याचलाई ट्रफीसहित १५/१५ सय रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।
विद्यालयका सहायक प्रिन्सिपल हरिश ठगुन्नाले प्रतियोगिताले विद्यालयस्तरमै प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । “प्रतियोगिताले प्रतिभावान खेलाडीको पहिचान मात्र होइन, विद्यार्थीमा सकारात्मक सोच र आत्मविश्वास समेत विकास गर्छ,” उनले भने । ठगुन्नाका अनुसार विद्यालयकै क्रिकेट एकेडेमीका ९ जना प्रशिक्षार्थी खेलाडी जिल्ला क्रिकेट संघको टोलीबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भइसकेका छन् । साथै होलीफेम्लीका थुप्रै विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगितामा समेत सहभागी भइसकेका छन् ।
कञ्चनपुर क्रिकेट संघका सचिव विशाल सोनारले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा ठूलो टेवा पुग्ने बताए । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले नगरपालिकाभित्र पहिलो पटक विद्यालयस्तरमा यति ठूलो क्रिकेट प्रतियोगिता हुन लागेको उल्लेख गर्दै यसले खेलकुदसँगै शिक्षा क्षेत्रमा पनि नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखकले गर्ने कार्यक्रम रहेको छ । नगरभरिका विद्यालयबीच हुने प्रतियोगिता भएकाले स्थानीय क्रिकेट पारखीहरूमा समेत उत्साह थपिएको छ ।