हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा व्यापक जनचेतना अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको “मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी जनचेतना कार्यक्रम” मार्फत मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम र लागुऔषध दुर्व्यसन नियन्त्रणका विषयलाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य लिइएको हो ।

“मानसिक स्वास्थ्य हाम्रो साझा सरोकार, आत्महत्या रोकथाम सबैको जिम्मेवारी” भन्ने मूल नाराका साथ सञ्चालित अभियानमा मानसिक स्वास्थ्यलाई व्यक्तिको मात्र नभई परिवार, समुदाय र समग्र समाजको साझा चासोको विषयका रूपमा लिनुपर्नेमा जोड दिइएको छ । अभियानबारे जानकारी दिँदै स्वास्थ्यकर्मी तथा सहजकर्ता निलम चन्दले पछिल्लो समय मानसिक तनाव, डिप्रेसन, आत्महत्याको जोखिम तथा लागुऔषध दुर्व्यसनका घटना बढ्दै गइरहेका कारण समयमै सचेतना, पहिचान र उपचारको आवश्यकता झन् बढेको बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले मानसिक रोगको भार कम गर्न समुदायमा जनचेतना फैलाउने, मानसिक समस्या भएका व्यक्तिहरूको प्रारम्भिक पहिचान गरी समयमै उपचारमा पहुँच सुनिश्चित गर्ने तथा जटिल प्रकृतिका बिरामीलाई सम्बन्धित विशेषज्ञकहाँ प्रेषण गर्ने लक्ष्य राखेको छ । त्यसैगरी आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि समुदायस्तरमा सचेतना विस्तार गर्ने, मानसिक रोग, आत्महत्या र लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि स्थानीय तहमा कार्ययोजना निर्माण गरी नियमित कार्यक्रम सञ्चालन तथा समीक्षा गर्ने नीति पनि अघि सारिएको छ ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा लागुऔषध दुर्व्यसन नियन्त्रणसम्बन्धी विषयवस्तुलाई बेलडाँडी गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समावेश गरी पालिकाभित्रका सबै विद्यालयमा लागू गर्ने तयारी गरिएको जानकारी दिइएको छ । यसबाट विद्यार्थी अवस्थादेखि नै मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच र सचेतना विकास हुने अपेक्षा गरिएको छ ।

अभियानबारे जानकारी दिन गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यलाई लुकाउने वा कलङ्कका रूपमा हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने, समस्या देखिएमा परिवार र समुदायले साथ दिनुपर्ने तथा आवश्यक परे स्वास्थ्य संस्थाबाट परामर्श र उपचार लिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । गाउँपालिकाले “साथ दिऔँ, समस्या होइन समाधान खोजौँ” भन्ने सन्देशसहित मानसिक स्वास्थ्यलाई जनस्वास्थ्यको महत्वपूर्ण मुद्दाका रूपमा स्थापित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
