हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० जेठ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकिएका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा नगर प्रमुख किशोर कुमार लिम्बूको अध्यक्षता तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दीपेन्द्रसिंह रावल, खोप फोकल पर्सन जनक कुँवर, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामी, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले पूर्ण खोप सुनिश्चितता घोषणा एउटा उपलब्धि मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षाप्रतिको साझा प्रतिबद्धता भएको बताउनु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख रावलले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन तथा विभिन्न संक्रामक रोगबाट बचाउन प्रभावकारी भूमिका खेलेको उल्लेख गर्दै नियमित खोप सेवामा समुदायको निरन्तर सहभागिता आवश्यक रहेको बताउनु भयो ।
खोप फोकल पर्सन कुँवरले ‘खोज र खोप’ अभियानमार्फत छुटेका बालबालिकासम्म पुगेर शतप्रतिशत खोप सुनिश्चित गर्न सकिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने लक्ष्यसहित निगरानीलाई थप प्रभावकारी बनाइने बताउनु भयो । कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणापत्र प्रदान गरिएको छ ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख बोहराले स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यले यो उपलब्धि सम्भव भएको बताउँदै यस उपलब्धिलाई दीगो बनाइराख्न निरन्तर सक्रियता आवश्यक रहेको धारणा राख्नु भयो ।
कार्यक्रमको समापनमा नगर प्रमुख किशोर कुमार लिम्बूले पूर्ण खोप सुनिश्चितता घोषणा नगरपालिकाको गौरवपूर्ण उपलब्धि भएको बताउँदै प्रत्येक बालबालिकाले समयमै खोप पाउने वातावरण कायम राख्न नगरपालिका सधैं प्रतिबद्ध रहने बताउनु भयो ।