हरिश्चन्द्र बाग, कञ्चनपुर, ३१ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिनामुनिका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि नगरपालिकालाई आइतबार औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्र रहेका १९ वटै वडामा घरधुरी सर्वेक्षण, अनुगमन तथा छुटेका बालबालिकाको पहिचान गरी खोप सेवा विस्तार गरेपछि तोकिएका सबै मापदण्ड पूरा भएको निष्कर्ष निकालिएको थियो । त्यसपछि जिल्ला समन्वय समितिबाट अनुमति प्राप्त भएसँगै विशेष कार्यक्रमबीच घोषणा गरिएको हो ।
पूर्ण खोप सुनिश्चितताका लागि नगरपालिकाले विभिन्न चरणमा विस्तृत तयारी गरेको थियो । मिति २०८२ चैत ११, १२ र १३ गते नियमित खोप कार्यक्रमको समीक्षा, सूक्ष्म योजना अद्यावधिक तथा खोप समन्वय समितिको अभिमुखीकरण सम्पन्न गरिएको थियो । साथै २०८३ वैशाख ४ गते बसेको नगरपालिका खोप समन्वय समितिको बैठकले सबै वडामा पूर्ण खोप सुनिश्चितताका आधार तयार गर्न आवश्यक निर्णय गरेको थियो । सोही निर्णयअनुसार स्थानीय स्वास्थ्य संस्थाहरूको सक्रियतामा वडा खोप समन्वय समितिका बैठकहरू सञ्चालन गरिए । स्थानीय स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरी १९ वटै वडामा २०८३ जेठ २२ गतेसम्म घरधुरी सर्वेक्षण सम्पन्न गरिएको थियो ।
सर्वेक्षणका क्रममा राष्ट्रिय खोप तालिकाअनुसार खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी उमेर समूहअनुसार विवरण सङ्कलन गरिएको थियो । त्यसपछि नियमित खोप सत्रसँगै थप विशेष खोप सत्र सञ्चालन गरी छुटेका बालबालिकालाई आवश्यक सबै खोप लगाइएको थियो । नगरपालिकाका अनुसार ० देखि १५ महिनासम्मका २ हजार बालबालिकामध्ये कुनै पनि बालबालिका खोपबाट ड्रप आउट भएका थिएनन् । यस्तै १६ देखि २३ महिनासम्मका १ हजार ३९१ जना तथा २४ देखि ५९ महिनासम्मका ५ हजार १९० जना बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको थियो ।
नियमित खोप सेवामार्फत २०८३ वैशाखसम्म १ हजार ३९१ जना बालबालिकाले दादुरा-रुबेलाको दोस्रो मात्रा लगाइसकेका थिए । घरधुरी सर्वेक्षणका क्रममा १८ जना बालबालिका दादुरा-रुबेलाको दोस्रो मात्रा लगाउन छुटेको पाइएपछि विशेष खोप अभियान सञ्चालन गरिएको थियो । अभियानमार्फत ती सबै बालबालिकालाई खोप लगाइएपछि १६ देखि ५९ महिनासम्मका कुल ६ हजार ५८१ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गरिएको नगरपालिकाले जनाएको छ ।
यससँगै जन्मेदेखि ५९ महिनामुनिका कुल ८ हजार ५८१ जना बालबालिकाको लगत सङ्कलन गरिएको थियो । जसमध्ये खोप छुटेका १८ जनालाई समेत पूर्ण खोप दिइएपछि नगरपालिकाले पूर्ण खोप सुनिश्चितताको सम्पूर्ण मापदण्ड पूरा गरेको हो । मापदण्ड पूरा भएपछि भीमदत्त नगरपालिकाले आवश्यक अनुसूचीसहित २०८३ जेठ २६ गते जिल्ला समन्वय समिति कञ्चनपुरमा घोषणा अनुमतिका लागि प्रस्ताव पठाएको थियो । जिल्ला समन्वय समिति कञ्चनपुरको च.नं. २९४, मिति २०८३ जेठ २८ गतेको पत्रमार्फत घोषणा गर्न अनुमति प्राप्त भएको थियो ।
घोषणा कार्यक्रममा नगर उपप्रमुख निलम लेखक जोशीको अध्यक्षता रहेको थियो । प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा सहभागी थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दीपेन्द्र सिंह रावल, महाकाली प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशी, नगर प्रवक्ता पदमराज अवस्थी, विभिन्न विषयगत समितिका संयोजक, नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष सुरेशसिंह धामी सहित पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि, स्वास्थ्य संस्था प्रमुख तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाहरूलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र वितरण गरिएको थियो । साथै जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा र स्वास्थ्य कार्यालय प्रमुख दीपेन्द्र सिंह रावलमार्फत कार्यवाहक नगर प्रमुख निलम लेखक जोशी तथा प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिकाको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । वक्ताहरूले पूर्ण खोप अभियान बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण तथा स्वस्थ भविष्य निर्माणका लागि अत्यन्त महत्त्वपूर्ण उपलब्धि भएको बताएका थिए । उनीहरूले पूर्ण खोप सुनिश्चिततासँगै यसको दिगोपना कायम राख्न निरन्तर निगरानी, नियमित खोप सेवा र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका थिए ।