विकास सिंह महता, कञ्चनपुर, ३१ जेठ । कञ्चनपुरमा पहिलो पटक फुटबल प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले “एन्फा कम्युनिटी कोर्ष २०२६” अन्तर्गत प्रशिक्षण तालिम सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ कञ्चनपुरको आयोजना, दोधाराचाँदनी नगरपालिकाको आर्थिक सहयोग तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा उक्त तालिम सञ्चालन हुन लागेको हो ।
कार्यक्रम यही असार १ गतेदेखि ४ गतेसम्म महेन्द्रनगरस्थित खुला मञ्चमा सञ्चालन गरिने जिल्ला फुटबल संघले जनाएको छ । तालिमको उद्घाटन भने असार १ गते बिहान ८:०० बजे होटल न्यू आनन्दको सभाहलमा गरिने कार्यक्रम तय गरिएको छ । जिल्ला फुटबल संघ कञ्चनपुरका अनुसार यस तालिममार्फत जिल्लामा योग्य फुटबल प्रशिक्षक उत्पादन गर्ने, खेलकुदको आधारभूत विकासलाई मजबुत बनाउने तथा स्थानीय स्तरमै फुटबल प्रशिक्षण प्रणालीलाई संस्थागत गर्ने लक्ष्य राखिएको छ ।
संघका अध्यक्ष गणेश बहादुर चन्दका अनुसार कञ्चनपुरमा यसअघि रेफ्री प्रशिक्षण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् । उहाँका अनुसार वि.सं. २०६०, २०७४ र २०८२ सालमा रेफ्री प्रशिक्षण कार्यक्रम सम्पन्न भएका थिए । उहाँले यस्ता तालिमहरूले जिल्लामा फुटबलको विकास, प्राविधिक क्षमता विस्तार र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
त्यसैगरी जिल्ला फुटबल संघका महासचिव नितेश रावलका अनुसार असार १ देखि ४ गतेसम्म सञ्चालन हुने उक्त प्रशिक्षक प्रशिक्षण तालिममा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, डोटी तथा तराईका जिल्ला कैलाली र कञ्चनपुरलगायत विभिन्न क्षेत्रबाट इच्छुक प्रशिक्षार्थीहरूको सहभागिता रहनेछ । महासचिव रावलले तालिममार्फत स्थानीय स्तरमा प्रशिक्षक क्षमताको विकास भई भविष्यमा जिल्लाभित्रै दक्ष प्रशिक्षक तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
महेन्द्रनगरमा पहिलो पटक सञ्चालन हुन लागेको यस प्रकारको प्रशिक्षक प्रशिक्षण तालिमलाई खेलप्रेमी, खेलाडी तथा सरोकारवालाहरूले महत्वपूर्ण अवसरका रूपमा लिएका छन् । जिल्लामा फुटबलको विकास र व्यावसायिक प्रशिक्षण प्रणाली विस्तारतर्फ यो कार्यक्रम महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।