हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ असार । स्वास्थ्य सेवा अझै पनि धेरै ग्रामीण बस्तीका लागि सहज पहुँचको विषय बनेको छैन । आर्थिक अभाव, दूरी र जानकारीको कमीका कारण सामान्य स्वास्थ्य परीक्षणसमेत गराउन नपाउने अवस्था धेरै ठाउँमा यथावत् छ । यस्तै अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित कुण्डा पिकनिक स्पोर्टमा ईशान मेमोरियल अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा अस्पतालका चिकित्सक डा. जाकिर आलम नेतृत्वको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो । टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्दै रोगको प्रारम्भिक पहिचान, उपचार र आवश्यक सावधानीबारे परामर्शसमेत दिएको थियो ।
शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रह्यो । दिनभर सञ्चालन भएको शिविरमार्फत करिब ८० जना बिरामीले स्वास्थ्य परीक्षण, रगत जाँच, चिकित्सकीय परामर्श तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका छन् । अस्पतालका एचआर मदन भण्डारीका अनुसार शिविरपछि बिरामीहरूको स्वास्थ्य अवस्थाअनुसार आवश्यक औषधि वितरण गरिएको छ । शिविरमार्फत मात्रै करिब २ लाख ८५ हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलौरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किशन सिंह रानाले आफ्नै वडामा यस्तो उपयोगी कार्यक्रम सञ्चालन भएकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले ग्रामीण क्षेत्रमा यस्ता शिविरले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका धेरै नागरिक सामान्य जाँच गराउन पनि बजार वा अस्पताल पुग्न सक्दैनन् । यस्ता शिविरले घर आँगनमै सेवा पुर्याएर ठूलो राहत दिन्छ । आगामी दिनमा यस्ता कार्यक्रम अझ बढ्नुपर्छ ।”

ईशान मेमोरियल अस्पतालका अध्यक्ष आई. जङ्ग कुँवरले स्वास्थ्य सेवा शहरमा मात्र सीमित हुन नहुने बताउँदै ग्रामीण तथा दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि यस्ता शिविर सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँका अनुसार अस्पतालको उद्देश्य उपचार सेवा दिनु मात्र नभई समुदायमा स्वास्थ्य सचेतना फैलाउनु पनि हो । कुँवरले भन्नुभयो, “अस्पतालमा बिरामी कुर्नुभन्दा सेवा नै गाउँमा पुर्याउनु अझ प्रभावकारी हुन्छ । हाम्रो प्राथमिकता पहुँच नपुगेका समुदायसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु हो ।”

स्थानीयवासीले शिविरलाई निकै प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका छन् । स्वास्थ्य परीक्षणदेखि औषधिसम्म निःशुल्क उपलब्ध हुँदा आर्थिक रूपमा कमजोर परिवार विशेष लाभान्वित भएको उनीहरूको भनाइ छ । ग्रामीण समुदायसम्म प्रत्यक्ष स्वास्थ्य सेवा पुर्याउने यस्ता पहलले उपचार मात्र होइन, स्वास्थ्यप्रतिको चेतना पनि बढाउने विश्वास गरिएको छ ।