प्रकाश भट्ट / हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बालमैत्री नगर निर्माण गर्ने लक्ष्यसहित बाल भेलाबाट आएका कार्यक्रमहरूको प्रगति समीक्षा गरिएको छ । “कृष्णपुरका बालबालिकाको चौतर्फी विकास, स्वस्फूर्त निर्णय लिन सक्ने - सबैले निकालौँ निकास” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा बालबालिकाले आफ्ना आवश्यकता, समस्या र प्राथमिकतालाई स्थानीय सरकारसमक्ष स्पष्ट रूपमा प्रस्तुत गरेका छन् । NNSWA (Nepal National Social Welfare Association Kanchanpur), World Vision र कृष्णपुर नगरपालिकाको सहयोग तथा कृष्णपुर नगर स्तरीय बाल सञ्जालको आयोजनामा बिहीबार नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमले बालमैत्री स्थानीय शासन निर्माणमा बाल सहभागिताको महत्वलाई थप उजागर गरेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य बाल क्लब तथा बाल सञ्जालले आर्थिक वर्ष २०८१/०८२ देखि हालसम्म गरेका गतिविधिको समीक्षा गर्नु, कार्ययोजनाको प्रगति तथा वर्तमान अवस्थाको मूल्याङ्कन गर्नु, सिकाइ र चुनौतीहरू पहिचान गर्नु तथा बालबालिकाका आवाज र एजेन्डालाई स्थानीय सरकारको योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गराउनु रहेको थियो । कार्यक्रममा बाल क्लब, बाल सञ्जाल, स्थानीय जनप्रतिनिधि, नगरपालिका पदाधिकारी तथा विभिन्न सरोकारवाला गरी ४५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी बालबालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा बाल अधिकारलाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य, संरक्षण, सरसफाइ, सुरक्षित वातावरण, खेलकुद तथा क्षमता विकासका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न जोडदार माग गरेका छन् । बालबालिकाले विद्यालयमा गुणस्तरीय शिक्षा, सुरक्षित सिकाइ वातावरण, पर्याप्त खेलमैदान, मनोसामाजिक सहयोग, बाल हिंसा न्यूनीकरण, बाल विवाह नियन्त्रण, बाल श्रम उन्मूलन तथा बालमैत्री सार्वजनिक संरचनाको आवश्यकता औँल्याएका थिए । उनीहरूले बालमैत्री नगर घोषणा केवल कागजमा सीमित नभई व्यवहारमा देखिनुपर्ने बताएका छन् ।
बालबालिकाको भनाइमा स्थानीय सरकारले बालमैत्री वातावरण निर्माणका लागि अझ प्रभावकारी, दिगो र परिणाममुखी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको देखिएको छ । उनीहरूले आफ्नो सहभागिताविना बालमैत्री नीति पूर्ण हुन नसक्ने स्पष्ट पारे ।कृष्णपुर नगर स्तरीय बाल सञ्जालका अध्यक्ष अशोक धामीले हालसम्म सञ्जालले सञ्चालन गरेका गतिविधि, उपलब्धि र चुनौतीबारे प्रस्तुतीकरण गर्नुभयो । अध्यक्ष धामीले बाल सञ्जालले विभिन्न वडामा बाल भेलाहरू सञ्चालन, सचेतनामूलक अभियान, बाल अधिकारसम्बन्धी पैरवी तथा बालबालिकाका सवाल उठाउने काम निरन्तर गर्दै आएको बताउनुभयो । उहाँले बालबालिकाको आवाज सुन्ने मात्र नभई त्यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिका भविष्य मात्र होइनन्, वर्तमानका सक्रिय नागरिक पनि हुन् । उनीहरूको आवाज योजना निर्माणको केन्द्रमा पुग्नुपर्छ ।”
कार्यक्रममा बोल्दै नगर प्रमुख हेमराज ओझाले बालबालिकाले उठाएका विषयहरू गम्भीर रूपमा लिइने बताउनुभयो । नगर प्रमुख ओझाले बालमैत्री स्थानीय शासन निर्माण नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै बाल अधिकार संरक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बालबालिकाको सक्रियता सकारात्मक सङ्केत भएको बताउँदै भन्नुभयो, “बालबालिकाले आफ्ना कुरा आफैँ राख्न सक्नु नै सक्षम समाज निर्माणको आधार हो । नगरपालिकाले उनीहरूको सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्नेछ ।”
नगर उपप्रमुख द्रोपती रानाले बाल सहभागिता स्थानीय लोकतन्त्रको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो । उहाँले बालमैत्री सोच परिवार, विद्यालय र समुदायबाटै सुरु हुनुपर्ने उल्लेख गर्दै बाल संरक्षणलाई सबैको साझा जिम्मेवारी भएको धारणा राख्नुभयो । प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टले बालबालिकाका सवाललाई योजना प्रक्रियासँग जोड्न प्रशासनिक प्रतिबद्धता रहेको बताउनुभयो । उहाँले बजेट निर्माणमा प्राथमिकताका आधारमा बालमैत्री कार्यक्रम समावेश गर्न सकिने भन्दै बाल सञ्जालसँग निरन्तर समन्वय आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भट्टलाई सम्मानसमेत गरिएको छ ।
अन्य वक्ताहरूले पनि बाल अधिकार सुनिश्चितता, सुरक्षित बाल्यकाल, बालमैत्री सेवा प्रवाह तथा समावेशी विकासका लागि सबै निकायबीच सहकार्य आवश्यक रहेको बताएका थिए । उनीहरूले बालबालिकाका मुद्दा केवल सामाजिक सरोकारको विषय नभई विकासको आधार स्तम्भ भएको उल्लेख गरे । कार्यक्रमको सहजीकरण जिल्ला स्तरीय बाल सञ्जालका अध्यक्ष टेक जोशीले गर्नुभएको थियो । उहाँले बालबालिकाको आवाज सुन्ने संस्कार संस्थागत हुनुपर्ने बताउँदै यस्ता कार्यक्रमले बाल सहभागितालाई बलियो बनाउने धारणा राख्नुभयो ।
सहभागी बालबालिकाले आफूहरूलाई सुन्ने, सम्मान गर्ने र निर्णय प्रक्रियामा सहभागी गराउने वातावरणको अपेक्षा व्यक्त गरेका थिए । उनीहरूले नीति निर्माण तहसम्म आफ्नो पहुँच विस्तार हुनुपर्ने र आफ्ना मुद्दा कार्यान्वयन तहमा पुग्नुपर्ने माग गरे । कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ कि, बालमैत्री नगर निर्माण केवल पूर्वाधार निर्माणले मात्र सम्भव छैन, त्यसका लागि बालबालिकाको आवाजलाई नीति, योजना र बजेटको केन्द्रमा राख्न आवश्यक छ । कृष्णपुरमा भएको यो समीक्षा कार्यक्रम बाल अधिकार सुनिश्चित गर्दै उत्तरदायी स्थानीय शासन निर्माणतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।