हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ असार । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित नयाँ रिछाहमा पछिल्ला केही दिनयता चोरीका घटनाहरू बढ्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बेलौरी बजारसँगै जोडिएको उक्त गाउँमा प्रायः हरेक राति चोरहरू प्रवेश गरी चोरी प्रयास गर्ने तथा आतङ्क फैलाउने गरेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार रात परेसँगै अपरिचित समूह गाउँमा घुमफिर गर्ने, घरको अवस्था बुझ्ने र मौका मिल्ने बित्तिकै चोरी गर्ने गतिविधि बढेको छ । यसले गाउँभर असुरक्षाको भावना बढाएको छ ।
स्थानीय एडी भट्टका अनुसार चोरहरूको गतिविधि दिनप्रतिदिन बढ्दै गएको छ । वडा कार्यालयले जडान गरेका सडक बत्तीका बल्बहरू समेत फुटाइएपछि रातको समयमा गाउँ झन् अँध्यारो बन्न पुगेको छ, जसका कारण चोरहरूलाई सहज भएको उहाँ बताउनुहुन्छ । “चोरहरूले दैनिकजसो दुःख दिइरहेका छन् । सडकबत्ती फुटाइदिएका छन्, राति घर वरिपरि घुम्छन् । अब त सुत्नै डर लाग्न थाल्यो,” भट्टले भन्नुभयो ।
चोरीको डरले गाउँलेहरू रातभर पालैपालो जाग्राम बस्न बाध्य भएका छन् । बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमा झन् बढी त्रास फैलिएको स्थानीय बताउँछन् । स्थानीयले प्रहरी गस्ती अत्यन्त कमजोर रहेको गुनासो गरेका छन् । बेलौरी बजार नजिकै भए पनि नियमित सुरक्षा निगरानी नहुँदा चोरहरूको मनोबल बढेको उनीहरूको भनाइ छ । प्रभावित बासिन्दाले तत्काल प्रहरी परिचालन बढाउन र प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन् ।
चोर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
विज्ञ तथा सुरक्षा निकायका अनुसार यस्ता घटनालाई नियन्त्रण गर्न तत्काल केही प्रभावकारी उपाय अपनाउन सकिन्छ :
- रात्रिकालीन प्रहरी गस्ती बढाउने - संवेदनशील क्षेत्रमा नियमित गस्ती आवश्यक ।
- सामुदायिक सुरक्षा समूह गठन - टोल स्तरमा स्वयंसेवी निगरानी टोली बनाउने ।
- CCTV क्यामेरा जडान - मुख्य चोक, गल्ली र प्रवेश बिन्दुमा निगरानी ।
- सडक बत्ती मर्मत र थप जडान - अँध्यारो क्षेत्र हटाउनु प्राथमिकता ।
- सन्दिग्ध व्यक्ति देखिए तुरुन्त सूचना - नजिकको प्रहरी चौकी वा १०० मा खबर गर्ने ।
- चोरलाई कानुनी कारबाही - पक्राउ परेकामाथि कडा अनुसन्धान र मुद्दा चलाउने ।
स्थानीयहरू भन्छन्, "जाग्रामले मात्र समस्या समाधान हुँदैन; प्रहरी, वडा कार्यालय र समुदायबीच समन्वय गरी स्थायी सुरक्षा व्यवस्था आवश्यक छ ।" समयमै सम्बन्धित निकाय गम्भीर नबने चोरीका घटना अझ बढ्न सक्ने भन्दै नयाँ रिछाहवासीले तत्काल सुरक्षाको माग गरेका छन् ।