हरिश्चन्द्र बाग, कञ्चनपुर, १० असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको १९औँ गाउँ सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड ६९ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाहमा सहजता तथा दिगो विकासलाई केन्द्रमा राख्दै गाउँपालिकाले बजेट ल्याएको हो । गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभा अध्यक्ष हरिशचन्द्र रानाले बजेटका प्राथमिकता सार्वजनिक गर्दै कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आगामी वर्षको मुख्य आधार बनाइएको बताउनुभयो । उहाँले प्रस्तुत बजेटले समृद्ध बेलडाँडी निर्माणको दीर्घकालीन आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँ सभामा सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथद्वारा प्रस्तुत बजेट वडा नं. ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले सभामा वाचन गर्नुभएको थियो । गाउँ सभाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको समीक्षा गर्दै उपलब्धि, चुनौती र आगामी रणनीतिबारे व्यापक छलफल गरेको थियो । विषयगत समितिका संयोजकहरूले आआफ्नो क्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यस वर्षको बजेटमा सेवा प्रवाहलाई नागरिकको पहुँचभित्र ल्याउने महत्त्वपूर्ण निर्णय पनि गरिएको छ । गाउँ सभा अध्यक्ष रानाले आगामी आर्थिक वर्षदेखि नापी तथा मालपोत सेवा बेलडाँडी गाउँपालिकाबाटै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । यसबाट स्थानीयले सामान्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता हट्ने, समय बचत हुने र आर्थिक भार समेत घट्ने अपेक्षा गरिएको छ ।

आर्थिक विकास क्षेत्रका लागि ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । रोजगार सेवा केन्द्र मार्फत सूचीकृत बेरोजगार नागरिकलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गर्न १० लाख रुपैयाँ छुट्टाइएको छ । कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा व्यवसायीकरणका लागि २४ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै महिला उद्यमशीलता प्रवर्द्धन, सीपमूलक तालिम तथा प्रविधि हस्तान्तरणलाई पनि प्राथमिकतामा राखिएको छ । पशु स्वास्थ्य सेवा, औषधि वितरण, महामारी नियन्त्रण, निःशुल्क खोप तथा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालनका लागि २० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।
सामाजिक विकास क्षेत्रतर्फ ३ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रवाह, औषधि व्यवस्थापन र उपचार सेवाका लागि सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त बजेटबाहेक गाउँपालिकाले थप १ करोड ४५ लाख रुपैयाँ छुट्टाएको छ । शिक्षा क्षेत्रको गुणस्तर सुधार, शैक्षिक पहुँच विस्तार र सिकाइ उपलब्धि बढाउन पनि १ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वाधार विकास तर्फ सङ्घीय तथा प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन हुने योजनाका लागि करिब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाका गौरवका आयोजनाअन्तर्गत कालोपत्रे सडक निर्माण तथा १५ शय्याको अस्पताल निर्माण लाई प्राथमिकता दिइएको छ । साथै खेलकुद क्षेत्रको विकास र युवालाई खेलमार्फत सशक्त बनाउन १८ लाख रुपैयाँ छुट्टाइएको छ ।

गाउँ सभा अध्यक्ष रानाले प्रस्तुत बजेट बेलडाँडीको आर्थिक रूपान्तरणको मार्गचित्र भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार यस बजेटले उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, सेवा प्रवाह सहज बनाउने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुनिश्चित गर्ने तथा दिगो पूर्वाधार निर्माण गर्ने स्पष्ट दिशा तय गरेको छ । स्थानीय तहको बजेट कार्यान्वयन प्रभावकारी बनेमा बेलडाँडीमा आर्थिक गतिविधि बढ्नुका साथै नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार आउने अपेक्षा गरिएको छ । गाउँ सभाको अर्को बैठक यही असार १६ गते बस्ने गरी स्थगित गरिएको गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्टले जानकारी दिनुभयो ।