हरिश्चन्द्र बाग / केशव थापा, कञ्चनपुर, १० असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले ९ वर्षपछि आफ्नै प्रशासकीय भवन तयार गरी सेवा प्रवाह सुरु गरेको छ । नौ वर्षसम्म भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडा कार्यालयले अन्ततः आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिन सुरु गरेको हो । बुधबार आयोजित औपचारिक कार्यक्रमका बीच नयाँ वडा कार्यालय भवनको उद्घाटन गरिएको हो । नयाँ भवन सञ्चालनमा आएसँगै स्थानीय नागरिकले अब थप व्यवस्थित, सहज, छिटोछरितो र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ ।
वडा नं. १ का वडाध्यक्ष गजबहादुर विष्टले लामो समयसम्म आफ्नै भवन नहुँदा सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन तथा दैनिक कार्यसम्पादनमा विभिन्न कठिनाइ झेल्नुपरेको बताउनुभयो । उहाँका अनुसार वडा कार्यालय भवनको शिलान्यास २०८२ साल कार्तिक २७ गते गरिएको थियो भने निर्माण सम्पन्न भएपछि २०८३ साल असार १० गते औपचारिक रूपमा उद्घाटन गरिएको हो । गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरूको साझा सङ्कल्प, समन्वय र पहलका कारण निर्माण कार्य सफल भएको उहाँले उल्लेख गर्नुभयो ।
वडा सदस्य श्यामबहादुर रावलका अनुसार नयाँ भवन आधुनिक संरचनामा निर्माण गरिएको छ । भवनमा कार्यक्रम सञ्चालनका लागि हल, वडाध्यक्षको कार्यकक्ष, वडा सदस्यहरूको छुट्टाछुट्टै कार्यकक्ष, स्टोर तथा आवश्यक सुरक्षा व्यवस्थासहित पर्खाल निर्माण गरिएको छ । उहाँले निर्माण कम्पनी चौधरी बिल्डर्ससँग ६४ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्ने सम्झौता भएको जानकारी दिनुभयो ।
उद्घाटन समारोहका प्रमुख अतिथि संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्य दिवानसिंह विष्टले बेलडाँडीको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको बताउनुभयो । उहाँले प्रदेश सरकारमार्फत विभिन्न विकास योजनाका लागि बजेट ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा पनि विकास निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भौतिक पूर्वाधार निर्माण मात्र पर्याप्त नहुने भन्दै नागरिकले सेवा लिँदा सहज अनुभूति गर्न सक्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले गाउँपालिकाभित्रका सबै वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै अब सबै वडाबाट आफ्नै भवनमार्फत सेवा प्रवाह भइरहेको बताउनुभयो । उहाँले स्थानीय सरकारको मूल उद्देश्य नागरिकलाई घरदैलो नजिकबाट सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको स्पष्ट पार्नुभयो । आफ्नै भवन सञ्चालनमा आएपछि प्रशासनिक कामकाज थप व्यवस्थित हुने र सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्नु नपर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले नयाँ वडा भवन निर्माणसँगै सेवा प्रवाहको गुणस्तर अझ सुधार हुने बताउनुभयो । उहाँले भवनको अधिकतम उपयोग गर्दै प्रशासनिक सेवा छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन कर्मचारी तथा जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
एमाले नेता अक्कल विष्टले बेलडाँडीको दिगो र समग्र विकासका लागि सबै वडामा समान दृष्टिकोणबाट योजना सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विकासलाई राजनीतिक आग्रहभन्दा माथि उठाएर जनहित केन्द्रित बनाउनुपर्ने धारणा राख्नुभयो । पूर्व प्रधान वीरबहादुर विष्टले विगतमा आफूहरूले विकासको आधार तयार गरेको स्मरण गर्दै नयाँ पुस्ताले त्यसलाई अझ सशक्त रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले समृद्ध बेलडाँडी निर्माणका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । पूर्व वडा सदस्य शङ्कर भट्टले भवन निर्माण हुनु सकारात्मक उपलब्धि भए पनि यसको वास्तविक अर्थ नागरिकले पाउने सेवाको गुणस्तरबाट मापन हुने बताउनुभयो । उहाँले सेवाग्राहीलाई अनावश्यक ढिलासुस्ती वा झन्झट नदिई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन सुझाव दिनुभयो ।
उद्घाटन समारोहमा पूर्व जनप्रतिनिधिहरूलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो । यसले स्थानीय विकासमा विगतका जनप्रतिनिधिहरूले पुर्याएको योगदानको सम्मान गरिएको सन्देश दिएको छ । वडा सचिव राजबहादुर शाहले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्य गौरी उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । नयाँ वडा कार्यालय भवन निर्माणसँगै बेलडाँडी गाउँपालिका वडा नम्बर १ ले भौतिक पूर्वाधारमा महत्त्वपूर्ण फड्को मारेको छ । अब यो भवन प्रशासनिक संरचनामा सीमित नरही नागरिकलाई गुणस्तरीय, पारदर्शी, उत्तरदायी र सेवा–मैत्री प्रशासन प्रदान गर्ने केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।