प्रकाश भट्ट, कञ्चनपुर, २२ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ स्थित खल्लागोठमा मछेली नदीको कटान नियन्त्रण तथा बगर संरक्षणका लागि वृक्षारोपण गरिएको छ। जनहित महाकाली सामुदायिक वन उपभोक्ता समिति, खल्लागोठको आयोजनामा तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सी कोर्प्स नेपालको साझेदारीमा सञ्चालित ‘जलवायु उत्थानशील समुदाय (सीआरसी) परियोजना’ अन्तर्गत डिभिजन वन कार्यालय कञ्चनपुर र कृष्णपुर नगरपालिकाको सहकार्यमा ५ हजार ७ सय बिरुवा रोपिएको हो।

हरेक वर्ष मनसुनका बेला मछेली नदीले कटान गर्दै आएको क्षेत्रलाई सुरक्षित बनाउन वृक्षारोपण गरिएको आयोजकले जनाएको छ। यसअघि सोही परियोजनाअन्तर्गत कृष्णपुर नगरपालिका र वडा कार्यालयको सहकार्यमा उक्त क्षेत्रमा १७० मिटर जैविक तटबन्ध निर्माण गरिएको थियो। बगर संरक्षणका लागि १ हजार २५० मिटर तारबारसमेत गरिएको छ। जसमध्ये डिभिजन वन कार्यालयले ९०० मिटर र सीआरसी परियोजनाले ३५० मिटर तारबार गरेको हो।

वृक्षारोपण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टले जलवायु परिवर्तनका कारण बढ्दो नदी कटानको जोखिम न्यूनीकरणका लागि वनस्पति संरक्षण र जैविक इन्जिनियरिङ प्रभावकारी उपाय भएको बताउनुभयो। उहाँले रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदाय र सामुदायिक वन उपभोक्ता समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले मछेली नदी आसपासका बस्तीको सुरक्षा र वातावरण संरक्षणका लागि नगरपालिका स्थानीय तथा विकास साझेदार संस्थासँग निरन्तर सहकार्य गरिरहेको बताउनुभयो। जैविक तटबन्ध, तारबार र वृक्षारोपणको एकीकृत प्रयासले खल्लागोठ क्षेत्रलाई बाढी तथा कटानको जोखिमबाट जोगाउन महत्त्वपूर्ण योगदान पुग्ने उहाँको विश्वास थियो।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले बगर संरक्षण र वृक्षारोपणका लागि आवश्यक प्राविधिक तथा भौतिक सहयोगलाई प्राथमिकतामा राखिएको बताउनुभयो। संयुक्त लगानीमा गरिएको तारबारले रोपिएका बिरुवालाई चौपाया तथा अन्य क्षतिबाट जोगाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो।

कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिंह साउदले खल्लागोठको बगर र तटीय क्षेत्र संरक्षण स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउँदै जैविक तटबन्ध, तारबार र वृक्षारोपणले स्थानीयवासीलाई दीर्घकालीन राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सीआरसी परियोजनाका फिल्ड अधिकृत गोविन्द नारायण उपाध्यायले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा समुदायलाई उत्थानशील बनाउन बहुपक्षीय सहकार्य आवश्यक रहेको बताउनुभयो। स्थानीय सरकार, वन कार्यालय र समुदायको साझेदारीमा गरिएको यो पहलले खल्लागोठमा दिगो बगर व्यवस्थापन र सुरक्षित भविष्य निर्माणमा टेवा पुग्ने उहाँले बताउनुभयो।

वृक्षारोपण कार्यक्रममा सबडिभिजन वन कार्यालयका प्रतिनिधि, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, सामुदायिक वन उपभोक्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
