हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ असार । एउटा खाली घडेरी सफा गर्नु सामान्य काम हुन सक्छ । तर समुदाय आफैँ उठेपछि त्यही काम सामाजिक अभियान बन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारसँगै जोडिएको ॐ टोलले शनिबार त्यही सन्देश दिएको छ । झाडी, भाङ र धतुरोले ढाकिएका तथा दुर्व्यसनीहरूको जमघट स्थल बन्दै गएका खाली घडेरी सफा गर्दै स्थानीयले ‘आफ्नो टोलको जिम्मेवारी आफैँ’ भन्ने अभियान सुरु गरेका छन् ।

टोललाई सफा, सुरक्षित र दुर्व्यसनमुक्त बनाउने उद्देश्यले सुरु गरिएको बृहत् सरसफाइ अभियानको शुभारम्भ वडा नम्बर ४ का वडाध्यक्ष सुशील भट्टले स्थानीय स्तरमा उम्रिएका भाङका बोट उखेलेर गरे । वर्षायाम लागेसँगै खाली घडेरीहरू झाडीले ढाकिने, भाङ र धतुरो मौलाउने तथा ती स्थान दुर्व्यसनीहरूको अखडा बन्न थालेपछि स्थानीयले सामूहिक रूपमा सरसफाइ अभियान थालेका हुन् । समितिका अनुसार अभियान अब एक दिने कार्यक्रममै सीमित नरही टोलका सबै खाली घडेरी व्यवस्थित बनाउने गरी निरन्तर सञ्चालन हुनेछ ।

वडाध्यक्ष सुशील भट्टले सरसफाइ अभियान वातावरणसँग मात्रै नभई समाजको सुरक्षा र संस्कृतिसँग पनि जोडिएको विषय भएको बताए । "दुर्व्यसन बढाउने वातावरण हटाउनु भनेको अपराध बढ्ने आधार कमजोर बनाउनु हो । प्रत्येक टोलले आफ्ना सार्वजनिक र खाली स्थानको जिम्मेवारी आफैँ लिन सके स्थानीय सरकारको काम धेरै सहज हुन्छ । ॐ टोलले थालेको यो अभियान अरू बस्तीका लागि पनि प्रेरणा बन्नुपर्छ," उनले भने ।

योग प्रशिक्षक लवराज भट्ट, समाज परिवर्तन ठूलाठूला भाषणले नभई ससाना सकारात्मक अभ्यासबाट सुरु हुने कुरामा जोड दिन्छन् । "शरीर मात्र होइन, समाज पनि शुद्ध हुनुपर्छ। झाडी सफा गर्नु भनेको फोहोर हटाउनु मात्रै होइन, विकृति पलाउने वातावरण पनि हटाउनु हो । यस्तो अभियान घर घर र टोल टोलमा पुग्न सके स्वस्थ समाज निर्माणमा ठूलो योगदान पुग्छ," उनले भने ।

अभियानका संयोजक तथा टोल विकास समितिका सचिव भागवत देव भट्ट, कसैले गरिदेला भनेर पर्खिने प्रवृत्तिभन्दा समुदाय आफैँ अघि बढ्नु नै दिगो समाधान भएको बताउँछन् । "हामी सरकारको मुख ताकेर बस्न चाहँदैनौँ । आफ्नो टोलको जिम्मेवारी आफैँ लिने संस्कार विकास गर्न सकियो भने फोहोर मात्र होइन, सामाजिक विकृति पनि हटाउन सकिन्छ । यो अभियान सरसफाइको मात्रै होइन, नागरिक उत्तरदायित्वको अभियान हो," उनी भन्छन् ।
टोल विकास समितिकी कोषाध्यक्ष भावना केसीले अभियानमा महिलादेखि युवासम्मको सक्रिय सहभागिताले सामुदायिक एकता बलियो बनेको बताइन् । "खाली घडेरी सफा गर्नु मात्रै हाम्रो उद्देश्य होइन । आगामी पुस्ताले सुरक्षित र सभ्य वातावरण पाओस् भन्ने चाहना पनि हो । समुदाय एकजुट हुँदा परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास यो अभियानले जगाएको छ," उनी भन्छिन् ।
स्थानीयवासीका अनुसार सरसफाइसँगै खाली घडेरीहरूको नियमित अनुगमन, संरक्षण र व्यवस्थापनलाई पनि अभियानसँग जोडिने छ । समुदायको सानो पहलले सार्वजनिक सम्पत्तिको संरक्षण, दुर्व्यसन नियन्त्रण र सुरक्षित बस्ती निर्माणतर्फ ठूलो सन्देश दिएको भन्दै सहभागीहरूले यस्ता अभियान देशभर फैलिनुपर्ने धारणा व्यक्त गरेका छन् ।