कञ्चनपुर, ०२ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ मा आइतबार माघ मिलन वृहत् सांस्कृतिक कार्यक्रम गरिएको छ । श्री दर्शन युवा क्लबको व्यवस्थापन र श्री गोचाली कृषक समूहको आयोजना, बेलौरी नगरपालिकाको मुख्य प्रायोजन र प्रदेश पर्यटन पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन इकाई को प्रायोजनमा "थारुन के लौव वर्ष (थारु संवत् २६४६) ओ माघ मिलन वृहत् सांस्कृतिक कार्यक्रम" गरिएको कार्यक्रम संयोजक रतुलाल चौधरीले बताउनु भयो । "थारु हुइ राष्ट्रके सान, भाषा संस्कृति हमार पहिचान" भन्ने मूल नारा सहित बागेश्वरी आधारभूत विद्यालयको प्राङ्गणमा कार्यक्रम गरिएको व्यवस्थापक कृष्ण गम्वाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पूर्व खानेपानी मन्त्री बिना मगर, विशिष्ट अतिथि समेत रहनु भएका बेलौरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चौधरी, नगर उपप्रमुख जोगराम चौधरी, वडाध्यक्ष लाल बहादुर चौधरी सहितका वक्ताहरूले माघी पर्वको शुभकामना व्यक्त गर्दै थारु समुदायको कला, संस्कृति र पहिचान प्रवर्धनमा जोड दिनु भएको छ । उक्त कार्यक्रममा स्थानीय थारु समुदायका सांस्कृतिक प्रस्तुतिका साथै गायक राज कुश्मी र गायिका साेनु कुश्मीकाे बेजोड प्रस्तुति रहेको कार्यक्रम उद्घाेषिका सानु चौधरीले बताउनु भयो । कार्यक्रम सुसम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सबैलाई आयोजक र व्यवस्थापकले धन्यवाद ज्ञापन गरेको छ ।
