माधव पौडेल / हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ असार । सुदूरपश्चिम प्रदेश सरकारले कृषि क्षेत्रमा हालसम्म अपनाइएका उत्कृष्ट अभ्यास र भावी योजनाका बारेमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले पुनर्वासमा मिडिया संवाद तथा कृषक अभिमुखीकरण कार्यक्रम गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा पुनर्वास टाइम्स पत्रिकाको समन्वयमा बिहीबार पुनर्वास नगरपालिका ६ स्थित शर्मा पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा मन्त्रालयको नेतृत्व र प्रतिबद्धता झल्किने अभिव्यक्तिहरू सार्वजनिक भएका छन् । पुनर्वास टाइम्स पत्रिकाका प्रकाशक लाल बहादुर एस.के. को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, विशिष्ट अतिथि नगर उपप्रमुख भुलिया कुमारी राना, वडाध्यक्षहरू, मन्त्रीका निजी सचिव शङ्कर बोगटी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीहरू तथा ५० भन्दा बढी कृषकहरूको उपस्थिति रह्यो ।

कार्यक्रममा मन्त्री थापाका निजी सचिव बोगटीले मन्त्रालयले प्रदेशभर कृषि क्षेत्रमा गरेका उपलब्धिमूलक कामहरूको विस्तृत विवरण प्रस्तुत गर्दै सुदूरपश्चिमलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने दृष्टिकोण स्पष्ट पार्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी रानाले स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य अझ सुदृढ गर्न यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पुनर्वास नगरपालिकाले पनि कृषिलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै स्थानीय अनुदान, तालिम, मल बीउ वितरण, तथा सिँचाइ सुविधा विस्तारमा नगरपालिकाले चालु वर्षमा नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी किसानहरूले आफ्ना समस्या र जिज्ञासाहरू मन्त्री थापा समक्ष राख्नुभयो । कृषकहरूको प्रत्यक्ष जिज्ञासामा जवाफ दिँदै मन्त्री थापाले प्रदेशभर आधुनिक र व्यावसायिक कृषि प्रणाली लागू गर्न मन्त्रालयले ठोस पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले धान, गहुँ, मकै, उखु जस्ता अन्नबालीको उत्पादन वृद्धि गर्न वैज्ञानिक अध्ययन र प्रविधिमैत्री विधिको प्रयोग हुँदै गएको बताउँदै मुख्य मुख्य स्थानमा कोल्ड स्टोर निर्माण कार्य अगाडि बढाइएको स्पष्ट पार्नुभयो । यसै आर्थिक वर्षमा भैंसीपालनमा उच्च प्राथमिकता दिइएको र बाख्रा, कुखुरा, माछा तथा बङ्गुर पालनमा समेत अनुदान उपलब्ध गराइएको उल्लेख गर्दै कृषकहरूलाई आफ्नो बाली र पशुपालनको बिमा गराउन आग्रह गर्नुभयो । मन्त्री थापाले विशेष गरी मकै र उखु किसानलाई लक्षित गर्दै उखु हार्भेस्टर खरिदको तयारी भइरहेको र कृषि कार्यका लागि लिएको ५ करोडसम्मको ऋणमा ब्याज अनुदान दिने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

कार्यक्रमको समापनका क्रममा पुनर्वास टाइम्सका प्रकाशक तथा कार्यक्रमका अध्यक्ष लाल बहादुर एस.के.ले मन्त्री थापालाई धन्यवाद दिँदै किसानको घरदैलोमा पुगेर नीति र कार्यक्रम प्रस्तुत गर्नु आफैँमा सराहनीय कदम भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कागजमा मात्रै सीमित नीति होइन, मन्त्रीज्यू स्वयं किसानको घरदैलोमा आइपुगेको देख्दा राज्यप्रति जनताको विश्वास अझै बलियो भएको महसुस हुन्छ । मन्त्री थापा शब्दमा होइन, काममा विश्वास गर्ने नेतृत्वकर्ता हुन् । कृषकका समस्या सुन्नु, जिज्ञासाको जवाफ दिनु र समाधानको बाटो खोल्नु सामान्य कुरा होइन ।” उहाँले मन्त्री थापालाई ‘जनमुखी, जिम्मेवार र दूरदर्शी मन्त्री’ का रूपमा चित्रण गर्नुभयो । “मन्त्रीज्यूको उपस्थिति र प्रत्यक्ष संवादले यो कार्यक्रमलाई औपचारिकताको घेराभन्दा बाहिर ल्याएर एक ऐतिहासिक प्रयासमा परिणत गरिदिएको छ,” प्रकाशक एस.के.ले भन्नुभयो । यस प्रकारका कार्यक्रमहरूले नीति निर्मातालाई धरातलीय वास्तविकता बुझ्न सहयोग पुग्ने उहाँको भनाइ छ । यसका साथै कृषकको मनोबल उच्च बनाउने र उहाँहरूलाई कृषि उद्यममा प्रेरित गर्ने विश्वास समेत गरिएको छ । कार्यक्रमको सम्पूर्ण सहजीकरण दीप न्युज दैनिक पत्रिकाका प्रबन्ध निर्देशक नवराज अवस्थीले गर्नुभएको थियो ।
तस्बिर सौजन्य : महेन्द्र सिंह भाट