कञ्चनपुर, १८ चैत्र । अन्तर्राष्ट्रिय मानव संघका संस्थापक जैन साधु नेपाल केशरी डा. मणिभद्र मुनि महाराजको सर्वोदय शान्ति पदयात्रा कञ्चनपुरको गड्डाचौकीबाट शुक्रवार भारत प्रवेश गर्नु भएको छ । मेचीबाट पैदल यात्रा गरेर नेपाल प्रवेश गरेका डा. मणिभद्र महाराज र बिराज मुनीजी महाराज झन्डै २ वर्ष सम्म नेपालका विभिन्न जिल्लाहरूको पदयात्रा गर्दै बिहीबार पश्चिमी सीमा नाका गड्डाचौकी पुग्नु भएको थियो । शान्ति र अहिंसाको कामना गर्दै र मानिसलाई धर्मको सन्देश दिँदै थालिएको पदयात्रा शुक्रबार भारत प्रवेश गर्नु भएको विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष ज्योत्स्ना साउँदले बताउनु भयो । उहाँका अनुसार शुक्रवार भारत प्रवेश पश्चात् भारतको खटिमा, सितारगन्ज, नैनताल, काशीपुर र हस्तिनापुर हुँदै दिल्लीसम्म जाने योजना छ । शुक्रबार विश्व हिन्दु महासंघले गड्डाचौकीमा सर्वोदय शान्ति पदयात्राको नेपालबाट बिदाइ र भारत प्रवेशका लागि भव्य कार्यक्रमको आयोजना गरेको थियो ।
शुक्रबार सर्वोदय शान्ति पदयात्राको नेपालबाट बिदाइ र भारत प्रवेशका लागि विश्व हिन्दु महासंघले गड्डाचौकीमा कार्यक्रम गरिएको र विश्व शान्तिका लागि पैदल यात्रा गरी रहनु भएका डा.मणिभद्र महाराज र बिराज मुनीजीको स्वागत समेत गरिएको कार्यक्रममा स्वागत मन्तव्य समेत राख्नु भएका विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष ज्योत्स्ना साउँदले जानकारी दिनु भयो । उहाँका अनुसार महाराजको सर्वोदय शान्ति पदयात्रा भारत प्रवेश गर्ने कार्यक्रम अन्तर्गत गड्डाचौकीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, विशिष्ट अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउद र पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली रहनु भएको थियो ।
उक्त कार्यक्रम पश्चात् नेपालका विशिष्ट व्यक्तिहरूसहितको नेपाली पक्षले नेपालबाट बिदाइ गरेपश्चात् भारतका विशिष्ट व्यक्तिहरूको सहभागितामा डा. मणिभद्र महाराज र बिराज मुनीजी महाराजको भारतीय पक्षले गड्डाचौकी सीमा नाकामा स्वागत गरेको छ । डा. मणिभद्र महाराज आजीवन पदयात्री हुनुहुन्छ । डा. मणिभद्र महाराजले आफूहरूले पनि सवारी साधनको प्रयोग नगर्ने बताउँदै अहिले नेपालमा सवारी साधनको प्रयोग नगर्ने साधु १४ हजार जना रहेका बताउनु भयो । आफूले दीक्षा(घर परिवार सबै त्यागेको) लिएको ३८ वर्ष भइसकेको र अहिले सम्म ८५ हजार किलोमिटर पदयात्रा गरिसकेको जानकारी दिनु भयो । उहाँले आफूहरू कुनै पनि ठाउँमा ४ महिना भन्दा बढी नबस्ने गरेको बताउनु भयो । शुक्रवार कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा आयोजित कार्यक्रममा कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको बैजनाथ भजन कीर्तन समूहका सदस्यहरू तथा आध्यात्मिक चिन्तन राख्नेहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
यो समाचार शुक्लाफाँटा खबरबाट साभार गरिएको हो ।