कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा लागु औषध दुर्व्यसनी तथा साइबर अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । आइतबार दिउँसो पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित पुनर्वास जनता माविको सभा हलमा सरोकारवालाहरूको प्रतिनिधित्वमा लागु औषध दुर्व्यसनी तथा साइबर अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा सञ्चालन गरिएको उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाट शैलेश्वरी कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर ऐर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले लागु औषध दुर्व्यसनी तथा साइबर अपराध नियन्त्रण सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय खुला सीमा नाकामा बढ्दो लागू औषध तथा साइबर अपराधका घटना नियन्त्रणमा सरकार लगायत सुरक्षा निकायको भन्दा ठुलो भूमिका स्थानीय नागरिकको हुने भएकोले सबै तह तप्काका व्यक्ति एकजुट भएर लागे नियन्त्रण हुन सक्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनुभएको थियो । लागु औषध दुर्व्यसनी तथा साइबर अपराध नियन्त्रण आफैमा एउटा चुनौतीको विषय रहेको हुँदा यस्ता गतिविधि रोकथाम र नियन्त्रण गर्न स्थानीयको सहयोग बिना सम्भव नरहेको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ । “सीमावर्ती क्षेत्रमा खुला सिमानाका कारण यस्ता प्रकृतिका अपराध नियन्त्रणका लागि स्थानीयको सूचना नपाएसम्म किमार्थ नियन्त्रण गर्न सकिन्न । यसैले यस्तो जटिल परिस्थितिमा सुरक्षाकर्मीलाई स्थानीयले लागु औषध प्रयोगकर्ता र साइबर अपराध सम्बन्धी सूचना प्रवाह गरे यस्ता गतिविधि न्यूनीकरण गर्न सकिन्छ ।” प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “लागु औषध तथा साइबर अपराधको प्रकृति अनुसारको कानुनी सजाय हुने विषयलाई आम सचेत नागरिक, अभिभावक विशेष गरी विद्यार्थीहरूबाट काउन्सिलिङ गर्न सके नियन्त्रण गर्न असम्भव भने देखिन्न ।”
त्यस्तै गरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले यस्ता विकृतिलाई नियन्त्रण गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने बताउनुभयो । बढ्दो प्रविधिको चरम दुरुपयोग, त्यसमा पनि मुख्य गरी मोबाइलको प्रयोगका कारण यति बेला साइबर क्राईममा वृद्धि भइरहेको उहाँले बताउनु भयो । “वर्तमान समयमा प्रविधिको विकाससँगै यसको उपयोग भन्दा दुरुपयोग बढी हुँदा युवा पीढी मारमा परेकोले यसलाई नियन्त्रण गर्न सर्वप्रथम अभिभावक जिम्मेवार बन्न सक्नु पर्छ । त्यससँगै यसको रोकथाम र नियन्त्रण गर्न विद्यालय स्तरबाट विद्यार्थीहरूले अझ अभियन्ताका रूपमा सक्रियता देखाउनु पर्छ ।” प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो । त्यसै गरी पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले भारतीय खुला सीमा नाकासँग जोडिएको पुनर्वास नगरपालिकामा प्रतिबन्धित लागू औषध ओसारपसार तीव्र रूपमा हुने गरे पनि पछिल्लो समय प्रहरीको सक्रियताले केही हदसम्म नियन्त्रण हुँदै गएको उल्लेख गर्नुभयो । यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न प्रहरीको मात्रै प्रयासले सफल नहुने र आम नागरिकको पनि उत्तिकै दायित्व रहने नगर प्रमुख शर्माको भनाइ छ ।