हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ भदौ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ बन्तरिया स्थित सडकमा ठूलो भ्वाङ परेको छ । गत हप्ता परेको वर्षाले उक्त सडक खण्डमा भ्वाङ परेको स्थानीयको भनाइ छ । स्थानीय महिलाहरूका अनुसार उक्त भ्वाङ परेको हप्ता दश दिन जति भइसकेको छ । भित्र भित्र मुसाले ओडार बनाएको र वर्षाको पानीले नाली भरिई उक्त ओडार भित्र पानी पसी भ्वाङ परेको बताइएको छ । सो सडक स्याली खोलाको किनारमा रहेकोले नदी तर्फबाट समेत सडक कटान भइरहेको छ । 
सडकमा भ्वाङ परेको सम्बन्धी स्थानीयले जानकारी गराएपछि यही भदौ १५ गतेका दिन वडा सदस्य शंकरु राना सहितको टोली सो स्थानमा गएको र तत्काल नगरपालिकाका प्राविधिकलाई समेत जानकारी गराई स्टिमेट तयार गर्न लगाएको वडा नम्बर ५ का वडाध्यक्ष लाल बहादुर चौधरीले बताउनु भयो । सञ्चारकर्मीहरूसँग सो विषयमा प्रतिक्रिया दिँदै वडाध्यक्ष चौधरीले यस अवधिमा बिदा परेकोले काम गर्न ढिलाइ भएको स्वीकार गर्दै आइतबार साँझदेखि नै सडक खण्ड मर्मतको काम सुरु गराउन तदारुकता देखाउनु भयो । उहाँले आइतबार साँझ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकलाई टेलिफोन गरी तुरुन्तै जेसिबि पठाइदिन आग्रह गर्नुभएको छ । वडाध्यक्ष चौधरीका अनुसार उक्त वडा भित्र चार पाँच ठाउँमा सानाठूला भ्वाङ परेको तथा बाटो भत्किएको छ । आइतबार साँझदेखि नै बन्तरियाको सडकमा परेको भ्वाङ पुरी सडक मर्मत गरिने र अन्य ठाउँमा पनि लगत्तै मर्मतको काम गरिने वडाध्यक्षले जानकारी दिनुभएको छ । 