हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ भदौ । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुल जोड्न बनाइएको ६ लेनको पहुँच मार्गमा यही भदौ १३ गतेबाट आवागमन बन्द गरिने भएको छ । भाइरल रोडको नामले पछिल्लो समयमा निक्कै चर्चित भएको उक्त पहुँच मार्गमा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेपछि कोभिड १९ को सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भदौ १३ गतेबाट आवागमन बन्द गर्न आदेश जारी गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले मानिसहरूको अत्यधिक भिड हुने गरेका कारण कोभिड १९ को सङ्क्रमण थप फैलिने जोखिमसँगै आपराधिक घटनामा समेत वृद्धि भइरहेको र पुल तथा बाटो निर्माण कार्यका लागि आवश्यक मालवाहक सवारी साधनहरू सञ्चालनमा समेत अप्ठ्यारो पर्न गएपछि यही भदौ १३ गते आइतबारबाट महाकाली नदी किनारको पहुँच मार्गमा अनावश्यक आवतजावत गर्न र भेला हुन प्रतिबन्ध लगाइएको बताउनु भएको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेला र वडा नम्बर १२ ऐरी क्षेत्रमा निर्माण भएको पहुँच मार्ग यतिबेला फोटो सुटको हटस्पट बनेसँगै छेउमै बगिरहेको महाकाली नदी र निर्माणाधीन ४ लेनको पक्की पुल आन्तरिक पर्यटकको रोजाइमा परेको छ । सुदूरपश्चिमका प्रायः सबै जिल्ला र अन्य प्रदेशबाट समेत आउने युवा पुस्ताका आन्तरिक पर्यटकहरू दिनभरजसो उक्त पहुँच मार्गमा फोटो तथा भिडियो कैद गर्नुका साथै टिकटक बनाउने र सामाजिक सञ्जालमा राख्ने क्रम बढ्दै गएको छ ।
गत असार पहिलो साता महाकाली नदीमा आएको बाढीले नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलको केही भाग बगाएपछि अहिले तुइनको माध्यमबाट मजदुरहरूले पुल निर्माणको कार्य जारी राखेका छन् । पुलसँगै वारीतर्फ गड्डाचौकी र पारीतर्फ दोधाराचाँदनी जोड्न डेढ किलोमिटर लामो ६ लेनको पहुँच मार्ग बनाइएको हो । यद्यपि पहुँच मार्गको केही भूभाग मात्रै कालोपत्रे गरिएको छ । सोही कालोपत्रे गरिएको पहुँच मार्गलाई भाइरल रोड नाम दिइएको छ ।
पछिल्लो केही समययता सडकमा भिडभाड बढेपछि त्यहाँ आइसक्रिम, चटपटे लगायत ससाना किराना पसल सञ्चालनमा आएका छन् । कहिलेकाहीँ सोही सडकखण्डमा केही उच्छृङ्खल युवाहरूको समूहमा झैझगडा समेत हुने गरेको पाइन्छ भने केही दिनअघि मात्रै सोही ठाउँ घुम्न गएका एक जना शिक्षकले महाकाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।